सरकारबाट हट्ने परामर्शमा ओली - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

सरकारबाट हट्ने परामर्शमा ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट अल्पमतमा परेपछि सरकार छाड्नुपरेको खण्डमा के गर्ने भन्ने बिषयमा परामर्शमा जुटेका छन् । पार्टीभित्रैबाट राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

स्रोतका अनुसार नेकपाले सरकारबाट हट्न निर्देशन दिएको अवस्थामा कस्तो रणनीति अख्तियार गर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गरेका हुन् ।

राजनीतिक दल विभाजन गराउने तथा प्रमुख विपक्षी दलको भूमिकालाई संवैधानिक परिषदमा कमजोर पार्ने गरी ल्याइएका दुई विवादास्पद अध्यादेश खारेजीसँगै प्रधानमन्त्रीमाथि पार्टीभित्रैबाट नैतिकताका आधारमा पद छाड्न दबाब बढिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री ओलीले महत्वपूर्ण राजनीतिक निर्णय गर्दा वा आफूलाई संकट परेका बेला राष्ट्रपति भण्डारीसँग सल्लाह लिँदै आएका छन् । अध्यादेश खारेज भए पनि स्थायी समिति बैठक बोलाउन पार्टीका अरु शीर्ष नेताबाट ओलीमाथि तीव्र दबाब छ ।

पार्टीलाई बाइपास गरेर ल्याइएको अध्यादेशका कारण जनतामाझ सरकार तथा पार्टी दुवै अलोकप्रिय र बदनाम भएको भन्दै कतिपय नेता ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइरहेका छन् ।

स्थायी समितिमा अल्पमतमा पर्ने निश्चित भएकाले ओली बैठक डाक्ने पक्षमा छैनन् । तर, स्थायी समितिका २० सदस्यले अबिलम्ब बैठक राख्न माग गर्दै दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई लिखित निवेदन दिएका छन् ।

नेकपा विधानमा हरेक तीन महिनामा नियमित र एक तिहाई सदस्यले माग गरेको खण्डमा स्थायी समिति बैठक बोलाउनुपर्ने व्यवस्था छ ।

नेकपाको स्थायी समिति बैठक नबसेकै चार महिना बितेको छ । यस्तो अवस्थामा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा महासचिव विष्णु पौडेल स्थायी समिति बैठक बोलाउनुपर्नेमा अडिग छन् ।

सचिवालयका ९ मध्ये ६ नेता ओलीको विपक्षमा खुलेरै लागेका छन् । गृहमन्त्रीसमेत ‘रहेका रामबहादुर थापा बादल अहिलेसम्म कुनै पनि समूहमा खुलेका छैनन् । तर, अध्यादेश प्रकरणमा उनले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् ।