ओली पक्षको भेला काठमाडौंमै: जबजको पक्षमा बहस चलाउन निर्देशन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली समूहले काठमाडौंमा जिल्ला भेला आयोजना गरेको छ ।
मदन भण्डारी फाउन्डेसनको ब्यानरमा काठमाडौंको बसुन्धरा पार्टी प्यालेसमा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघीयमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेशमन्त्री रामेश्वर फुयाललगायत नेताहरू उपस्थित रहेको बताइएको छ । कार्यक्रमको सार जबजको पक्षमा बहस चलाउनु रहेको सहभागीहरूले बताएका छन् ।
भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले ओलीनिकट जिल्ला सदस्यलाई पार्टीले हालका लागि स्थगित गरेको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवादका पक्षमा माहौल सिर्जना गर्न निर्देशन दिएका थिए । “ईश्वर पोखरेलले जबजका पक्षमा उभिन आग्रह त गरी नै हाल्नुहुन्छ । तर, उहाँले पार्टी एकतामा आँच आउने गतिविधि नगर्न नै भन्नुभएको थियो । केन्द्रमा देखिएको विवाद छिट्टै निराकरण हुने भएकाले तलतलका सङ्गठनात्मक तथा पार्टी काम नरोक्न निर्देशन दिनुभएको थियो ।”
काठमाडौं जिल्लामा सदस्यता एकीकृत गर्नेदेखि सङ्गठनात्मक कामहरू कुनै पनि अघि बढ्न सकेका छैनन् । नगर कमिटीहरू पनि गठन भइसकेका छैनन् । बनेका कमिटीहरूले पनि पूर्णता पाइसकेका छैनन् ।
स्थायी कमिटी बैठकले नेताका नाममा खुलेका प्रतिष्ठानबाट कुनै पनि गतिविधि नगर्न, समानान्तर पार्टी काम नगर्न निर्देशन दिए पनि फाउन्डेसनले क्रियाकलाप जारी राखेको छ । कात्तिक १९ गते ओली पक्षले प्रदेश नम्बर एकको भेला राखेपछि नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ ।
प्रदेश १ को भेलालाई प्रधानमन्त्री ओलीले नै सम्बोधन गरेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यहाँ पनि जबजको पक्षमा एकढिक्का हुन र मदन भण्डारी फाउन्डेसनका नाममा बहस चलाउन निर्देशन दिएका थिए । त्यही भेलामा पोखरेलले देशैभर यस्ता गुट भेला गर्ने पनि जानकारी दिएका थिए ।
पोखरेलले त्यस भेलामा जनताको बहुदलीय जनवाद नै पार्टीको विचार हुनुपर्ने धारणा राखेका थिए । नेकपा अहिले विचारमा प्रस्ट नभएको र त्यसको पूर्ति जबजले मात्रै गर्न सक्ने उनको भनाइ थियो । “विचारमा प्रस्ट भइएन भने हामी ठीक ढङ्गले अघि बढ्न सक्दैनौं । यो विचारमा स्पष्टताको कुरा गरिरहँदा हाम्रो विचार जनताको बहुदलीय जनवादबाट निर्देशित हुने हाम्रो निष्कर्ष हो, त्यसलाई कहिले पनि कमजोर ढङ्गले समात्न हुँदैन । अहिलेको पार्टी एकतापछि केही समयका लागि हामीले वास्तवमा महाधिवेशनसम्मका लागि अन्तरवस्तुमा जनताको बहुदलीय जनवाद रहे पनि जनताको जनवाद बोकेका हौं । साँचो कुरा के हो भने आज हामी निर्देशित भएको विचार जनताको बहुदलीय जनवाद नै हो । त्यही कुरालाई समातेर हामी अगाढि बढ्छौं,” उनले भेलामा भनेका थिए । स्रोतका अनुसार पोखरेलले शनिबारको भेलामा यही कुरा दोहोर्याएका थिए ।
जिल्ला कमिटी सदस्य महेश्वर फुयालले पूर्वएमालेहरूलाई एकजुट गर्न भेला डाकिएको जिकिर गरे । २ सय २५ सदस्यीय जिल्ला कमिटीमा भेलामा करिब ६५ जना सहभागी थिए । पूर्वएमाले पक्षको भेला भनिए पनि माधव नेपाल पक्षका भने कोही पनि भेलामा उपस्थित थिएनन् । जिल्ला कमिटीमा माधव पक्षका २२ जना छन् ।
काठमाडौं जिल्लामा पछिल्लो समय मदन भण्डारी फाउन्डेसन सक्रिय छ । साउनमा पनि पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्लाका नगरैपिच्छे बहस-विमर्श चलाएको थियो । रक्तदानजस्ता गतिविधिहरू गरेको थियो । फाउन्डेसन सक्रिय हुन थालेपछि नै स्थायी कमिटीले पार्टीका प्रतिष्ठानका गतिविधिमा अङ्कुश लगाएको हो ।