ओलीले भने: नेकपाबाहेक अन्य पार्टीमा पहिरो जान्छ !
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले फौजदारी र देवानी कानूनको विषयमा भ्रम फिजाउने कोशिश भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पोहोर निर्माण गरिएको कानूनमा अहिले धुमधाम हल्ला चलाइएको बताए ।
‘अहिले लागू हुने कानून पोहोर बनेको हो’, ओलीले भने, ‘त्यसमा भ्रम फिजाउने कोशिश भइरहेको छ । उनले अस्पतालमा बिरामीले डाक्टर कुट्ने कानून नबनाइएको दाबी गरे ।
‘कसैले त्यस्तो कानून बनाउँछ ?, पास गर्छु !’, ओलीले भने, ‘त्यो भएको छैन । तर भ्रम फिजाउने काम भएको छ । अन्यौलता फिजाउन खोजिएको छ ।’
ओलीले आफ्नो सरकार आफ्नो काममा नअलमलिएको दाबी समेत गरे ।
‘देश अलमलिएको छैन । युवापंक्ति अलमलिएको छैन । केही मानिसहरूलाई परेको छ अलमल्याएको हो कि भनेर’,उनले भने ‘हामीले अलमल्याउन खोजेको छैन । आफैं अलमलिएका छैनौं । दुई चार जनालाई लागेको होला ।’
उनले देश निर्माणको काममा सरकार लागेको दाबीसमेत गरे। ‘हामी विकास निर्माणका तमाम काममा तीव्रताका साथ लागेका छौं । साथै, सामाजिक सुरक्षाको प्रबन्धसहित गरिबको जीवनस्तर उकास्ने प्रतिवद्धतामा छौं । त्यसमा व्यवधान उत्पन्न गराउने प्रयास भैरहेका छन्’, प्रधानमन्त्रीले भने ।
साथै ओलीले सरकारले अब सुशासन, विकास, समृद्ध नेपाल सुखी नेपालीतर्फको उडान भर्ने बताए ।
ʻसाथीहरूको प्रवेशले पार्टी अझ गतिशील भएको छ । नेकपामा आएका साथीहरूको अनुहारमा हेरे देश बनाउने संकल्प छ । गर्न सकिन्छ भन्ने आत्मविश्वास छ,ʼ ओलीले भने, ʻयहाँहरूको विश्वास तलमाथि पर्दैन ।ʼ
ओलीले गणेशमान र कृष्णप्रसाद भट्टराईले समेत कांग्रेस छाड्नु परेको भन्दै नेकपा प्रवेश गरेका कार्यकर्ताले पछुताउनु नपर्ने बताए । ʻआज नेपाल नयाँ उद्देश्य, नयाँ अठोट र आत्मविश्वासका साथ अगाडि बढ्दैछ । सरकारले जनताका कामना र चाहानालाई व्यवहारमा उतार्दैछ,ʼ उनले भने, ʻअब नेकपाबाहेक अन्त त पहिरै जान्छ अब !ʼ
कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिइने बताए ।
कार्यक्रममा कांग्रेसका पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, साविकको खिजी चण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत कार्यकर्ता नेकपा प्रवेश गरेका थिए ।