ओलीलाई आफ्नै पद थाहा नभएको आरोप - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

ओलीलाई आफ्नै पद थाहा नभएको आरोप



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय गरिमाविपरीत अभिव्यक्ति दिँदै हिँडेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले पदीय जिम्मेवारी बिर्सेर जथाभावी बोल्दै हिँडेको आरोप लगाएको हो । उसले प्रधानमन्त्री ओलीलाई पदीय मर्यादा ख्याल गर्नसमेत भनेको छ ।

‘प्रधानमन्त्रीले नेपाली कांग्रेसप्रति गर्न‘भएको टिप्पणीलाई हामीले प्रधानमन्त्रीको पदीय गरिमाको उचाइअनुरूप नभएको मानेका छौं,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उसले प्रधानमन्त्रीको टिप्पणी हल्का अभिव्यक्तिका रूपमा आएको भन्दै प्रधानमन्त्रीबाट यस्ता अभिव्यक्ति आउनु दुःखद् भएको समेत बताएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार एक कार्यक्रममा कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमा साथ दिएको र सीके राउतसँगको सहमतिमा आत्तिएको भन्दै अभिव्यक्ति दिएका थिए । ‘एक दलीय अधिनायकवादको कम्युनिस्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वार्ध बिताएका जोकोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिँड्नुपर्ने परिस्थिति निश्चय नै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘तर, कांग्रेसले स्थापनाकालदेखि अंगीकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलको बयान’ भन्दा भिन्न छैन ।’

कांग्रेसले चन्द नेतृत्वको समूहलाई प्रतिबन्धित गरी सरकारले गलत बाटो अपनाएको र राजनीतिक रूपमा नै वार्ता र सहमतिमार्फत सहमति गर्न सरकारलाई आग्रह गर्दै आएको छ ।