प्रधानमन्त्री ओलीले मलाई हेपे, गलत प्रचार गरे : ओनसरी घर्ती - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

प्रधानमन्त्री ओलीले मलाई हेपे, गलत प्रचार गरे : ओनसरी घर्ती



काठमाडौं–पूर्वसभामुख ओनसरी घर्तिले अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफूलाई हेप्न खोजेको खुलासा गरेकी छिन् ।

नयाँ पत्रिकासँगको एक अन्तर्वार्तामा उनले भनेकी छिन्–सुशीला कार्कीलाई म आफैँ सहभागी भएको संवैधानिक परिषद्को बैठकबाट प्रधानन्यायाधीशमा सिफारिस भएको हेर्न चाहन्थेँ । यो कुरा मैले धेरैपटक प्रधानमन्त्री केपी ओलीजीलाई पनि भनेको थिएँ । त्यतिवेला म अलि अस्वस्थ भएँ, अस्पताल नै भर्ना हुनुपर्‍यो । पछि अप्रेसन नै गर्नुपर्‍यो । तर, कतै प्रचण्डजीले दोहोरो रोल खेल्नुभयो कि भन्ने आशंकाहरू उहाँलाई परेछ । कतै सुशीला कार्कीलाई प्रधानन्यायाधीश नबनाउन खोजेको त होइन भन्ने ढंगबाट पनि शंका गर्नुभएछ । म त एकदमै सोझो मान्छे ।

मैले बोलेका कुराहरू सोझो ढंगले नै बुझ्नुहुन्छ होला जस्तो लाग्थ्यो, तर त्यस्तो भएन । प्रधानमन्त्रीले नै मलाई हस्ताक्षर गर भनेर त भनेजस्तो लाग्दैन, तर उहाँका कर्मचारीहरूले चाहिँ भनेका हुन् । अध्यक्ष प्रचण्डले पनि अस्पतालमै आएर ‘हस्ताक्षर गरिदिनुस्’ भन्नुभएको हो ।

तर, तपाईंले भनेजस्तै मेरो स्वभावका कारण कतिपय कुरा मलाई पच्दैन, त्यो कुरा पनि एकदमै पचेन । किनभने, एक त म बिरामी भएर अस्पताल भर्ना भएकी छु । त्यसमाथि ओलीजीहरूले ‘बिरामी नै छैन, नाटक गरेको हो’ भनेर हल्ला चलाइरहनुभएको थियो । अर्को ‘यो सुशीलाको विरोधी हो’ भनेर पनि प्रचार गरिरहनुभएको थियो । मलाई हेप्न खोजे । मैले त्यस्तै महसुस गरेँ ।