नेकपा फुट्दैन, बैठक पनि बसिन्न, राजीनामा पनि दिन्न: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

नेकपा फुट्दैन, बैठक पनि बसिन्न, राजीनामा पनि दिन्न: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुट्ने बताएका छन्। एपिवान टेलिभिजनसँग शनिबार राति कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपा ढिलोचाँडो फुट्छ भन्‍ने कुरालाई आफूले गलत प्रमाणित गरिदिने बताए।

‘यो पार्टी ढिलो चाँडो फुट्छ भन्ने धेरैलाई परेको छ। नेकपा फुट्दैन र फुट्नु हुँदैन। अनुचित क्रियाकलाप गर्नेहरु आफैं आलोचित हुनेछन् र खिइँदै गएर सकिनेछन्’, उनले भने, ‘केही मान्छेको निजी स्वार्थकै लागि पार्टी र सरकार कुद्‍न सक्दैन। एकतालाई तलसम्म मिलाउँदै लानुपर्छ। म नेकपालाई फुट्न दिन्‍नँ, पार्टीलाई सफल बनाउन क्रियाशील रहन्छु।’

नेकपाका पहिलो वरीयताका अध्यक्षसमेत रहेका ओलीले पार्टीमा आत्मकेन्द्रित प्रवृत्ति देखिएको बताउँदै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए। ‘पार्टीमा आत्मकेन्द्रित प्रवृत्ति देखिए। मैले आफ्ना निम्ति कहिले पनि काम गरेको छैन। आफ्नो पद प्राप्ति वा पद सुरक्षामा ध्यान दिइनँ’, उनले भने, ‘पार्टी कहाँबाट कहाँ आएको छ? त्यो सबैले देखेका छन्। देश राष्ट्रियतामा बलियो भएर विकासका सवालमा अगाडि बढेको छ,’ ओलीले अगाडि थपे, ‘मैले असुरक्षित बनिरहनुपर्ने कुनै कारण छैन। म स्थिरताको दिशामा छु।’

प्रधानमन्त्री ओलीले अन्तर्वार्ताका क्रममा एक पटक मात्रै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिए। ‘कति बैठक अनधिकृत, अनुचित र गुटगत भेला बसेका छन्। प्रधानमन्त्री र अध्यक्षबाट पनि हट्नुपर्छ भनेका छन्’, उनले अगाडि भने, ‘म राजीनामा गर्दिनँ र सरकार पनि परिवर्तन हुँदैन। मन्त्रिपरिषद्का सदस्य फेरिनेछन् तर सरकारको नेतृत्व फेरिँदैन।’

उनले तत्कालै मन्त्रिपरिषद् पुनर्गठनको पनि सम्भावना नरहेको बताए। ‘प्रचण्डसँगको आधा आधा कार्यकालको तमसुकको यहाँ कुनै अर्थ छैन। मैले आधा कार्यकाल पाउनुपर्छ भनेर बखेडा झिक्नु जरुरी थिएन। उहाँले नै पूरै कार्यकाल चलाउनुस् भनेको हो’, उनले भने।

ओलीले भारतले हडपेको भूमिसहितको नक्सा निकालेपछि आफ्नै पार्टीका नेताहरु आत्तिएको बताए। ‘आफ्नो गुमेको भूभागसमेत सामेल गरेर नक्सा ल्याएका छौं। यो भूमि साँच्चै फिर्ता आयो भने त आफू कमजोर हुने चिन्ता हाम्रै पार्टीका नेताहरुलाई छ’, ओलीले थपे, ‘यो चिन्ता मेरै पार्टीका प्रवक्तालाई पनि छ। जो व्यक्तिगत रुपमा गुटको कुरा बोलिरहेका छन्। सरकारको र मेरो आलोचनामा उत्रिएका छन्।’

उनले रअ प्रमुख सामन्त गोयलसँगको भेटबारेमा बोल्दै कुटनीतिमा सबै किसिमबाट वार्ता हुने पनि बताए। ‘कूटनीतिमा सबैसँग कुरा गर्न हुन्छ। भित्र भित्र भेट्न हुने तर मैले थाहा दिएरै भेट्न नहुने? कसैलाई भेट्दैमा स्वाधीनता छोडिएको भन्‍न मिल्दैन। मैले रअ प्रमुखसँग गरेको कुराको परराष्ट्रमा सबै रेकर्ड छ। वार्तालाई सुचारु गराउने सन्दर्भमा कुरा भएको छ’, ओलीले अगाडि भने, ‘रअ प्रमुख सामन्त गोयलले दूतले निर्णय दिँदैनन्। भूमि फिर्ताको कुरा आगामी वार्ताले तय गर्छ। अब संवादहीनता तोडिएको छ।’

ओलीले आफूले कहिले पनि कसैलाई अलग हिँडौं नभनेको बताए। ‘यी सबै कुरा गलत हन्, यी भ्रमपूर्ण हुन् को आउँछु भन्यो कसले के भन्यो भन्‍न मिल्दैन। उहाँ (प्रचण्डको नाम नलिइ) ले र केही साथीहरुले मिल्न सकिँदैन भनेको हो। आफ्नो आफ्नो गरौँ तर झगडा नगरी छुटौं भन्‍नु भएकै हो। प्रचण्डजीले र अर्को साथीले पनि त्यस्तो गरौँ भनेको हो’, ओलीले अगाडि थपे, ‘मैले विभाजन आजको आवश्यकता होइन भनेको हो। गुटगत क्रियाकलाप नगरौं भनेको छु। बैठकलाई बेवास्ता नगरेको होइन। बैठक जति बेला पायो त्यति बेला बस्दैन। दुई अध्यक्षको परामर्शमा एजेन्डा र कार्यसूची तोकेर बैठक डाकिन्छ। बाटोमा हिँड्दा हिँड्दै बैठक बस्दैन।’

उनले धुम्बाराहीमा भएको बैठकबारे पनि प्रतिक्रिया दिए। ‘बाहिर बस्नु भन्दा पार्टी कार्यालयमा नै बस्नु राम्रो हो। गुटगत बैठक नगर्नु भनेको हो। व्यक्ति व्यक्ति भेट्न सकिन्छ। पार्टीको गुटबन्दीले पार्टीलाई सखाप बनाउँछ’, उनले भने, ‘मैले बैठक बोलाऊँ भन्दा उनीहरु नै नमानेका हुन्। समस्या बढाउन बैठक बस्ने होइन, समाधान गर्न बस्ने हो। बैठकबाट भाग्यो भन्‍ने बजार हल्ला गलत हो।’

हिजो धुम्बाराहीमा बसेको बैठकलाई ओलीले अनुचित भने। ‘हिजोको बैठक अनुचित हो, त्यो गुटगत बैठक गलत हो। गुटगत बैठकका निर्णय लिएर पार्टी कमिटीमा आउनु गलत हो,’ उनले थपे, ‘३२/३३ वर्ष अध्यक्ष भइसकेका साथीहरुको धित नमरेको देख्दा अचम्म लागेको छ। प्रधामन्त्री भइसकेका साथीहरुलाई फेरि फेरि रहर लागेको देख्दा छक्क परेको छु। ६० को हाराहारीको पुस्तालाई जिम्मा लगाउन हामी किन सक्दैनौं? ७० आसपासकाले एउटा सहमति गरेर ६० का लाई नेतृत्व हस्तान्तरण गरौं।’

आफूले पार्टीमा गुटबन्दी नगरेको उनको तर्क थियो। ‘मैले किन गुटबन्दी गर्नु? प्रथम अध्यक्षले गुटबन्दी गर्दैन। मैले संयुक्त सरकार चलाए जस्तो भएको छ’, उनले भने, ‘आफ्नै पार्टीमा बहुशक्ति केन्द्र छन्। तालमेल मिलाउँदा पनि उधुम मच्चाएका छन्।’

ओलीले अहिले सकार प्रधान कि पार्टी प्रधान भन्‍ने कुरा आएको बताए। उनले कर्णाली प्रदेशको विवादबारे पनि मुख खोलेका छन्। ‘कर्णालीमा भएको विवादबारे मलाई पूर्वजानकारी थिएन। प्रचण्डजीका, माधव नेपालजीका मान्छेहरु रिसाएको सुनेँ। बिरालोले खाँबो चिथोर्न जस्तो चरित्र देखाउनु भएन। कर्णालीमा गएर मैले त हस्ताक्षर गराएको होइन’, उनले भने, ‘कर्णालीको कमजोरी मेरो टाउकोमा हालेर हुँदैन।’

आफूले पार्टी एकता गलत थियो भनेर नबोलेको पनि उनले बताए। ‘न पार्टी एकता गलत थियो न मैले बाटो लाग भनेको छु। न कोही बहुमत अल्पमतको कुरा गरेको छु’, ओलीले थपे, ‘हामीले एकता प्रक्रियालाई पूर्णता दिनुछ। फाटो सिर्जना गर्ने गतिविधि बन्द गरिनुपर्छ। फाटो र झगडाका खेती बन्द गरौं एकतातर्फका प्रयास नेतृत्वले गर्नुपर्छ।’

देशले विकासको बाटो समातेको पनि ओलीले जिकिर गरे। ‘अहिलेको सरकाले देशका अनेक क्षेत्रमा परिवर्तन गरेको छ। तुइन विस्थापित भएको छ। सधैँ सत्ता जाने डर पालेर बसेको छैन। डराएको भए राजीनामा गर्छु भन्थेँ होला’, उनले भने, ‘हात्तीको जस्तो सुँड बजाउँछ फुँ गर्छ। मलाई देशको चिन्ता छ कोभिडको चिन्ता छ विकासका प्रयासमा कोभिडले व्यवधान खडा गरेको छ।’