प्रधानमन्त्री ओलीको ठाडो निर्देशन तुरुन्त टुटल र पठाओलाई पहिले जस्तै चल्न दिनु - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रधानमन्त्री ओलीको ठाडो निर्देशन तुरुन्त टुटल र पठाओलाई पहिले जस्तै चल्न दिनु



प्रधानमन्त्री केपी शर्मा ओलीले राइड सेयरिङ गर्ने टुटल र पठाओलाई तुरुन्त पहिले जस्तै चल्न दिन निर्देशन दिएका छन्।

निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न ट्राफिक प्रहरीले लगाएको रोकप्रति चासो व्यक्त गर्दै बुधबार ओलीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्।

ट्राफिक प्रहरीले प्रचलित कानून बिपरित भन्दै शनिबार टुटल र पठाओसँग आवद्ध ५ थान मोटरसाईकल नियन्त्रणमा लिएपछि त्यसबारे बहस सुरु भएको थियो।

टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले टुटल एउटा प्रविधी कम्पनी भएको जनाउँदै आफुहरुले सेवा सुचारु राखेको बताए।

‘हामीले सेवा रोकेका छैनौं,’ भट्टले बुधबार नेपालखबरसँग भने, ‘यस विषयमा हामीलाई कुनै सरकारी निकायबाट सम्पर्क भएको छैन।’

टुटल र पठाओ मोवाइल एपको माध्यमबाट पैसा लिएर यात्रुलाई मोटरसाइकल यातायात सेवा दिने माध्यम हुन्। ट्राफिक जामबाट जोगिँदै छिटोछरितो र सस्तो यात्राका लागि सहयोगी बनेको यो यातायात सेवा काठमाडौं उपत्यकामा खासगरी युवाबीच लोप्रिय बन्दै गएका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा निजी सवारीसाधनमा भाडाका यात्रु बोक्न अनुमति नभएको भन्दै शनिबारदेखि कारवाही थालेको हो। उसले सोही ऐनको दफा ८ को उपदफा १ र २ मा भएको कानूनी व्यवस्था अनुसार कारवाही थालेको हो। उपदफा २ मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न नपाईने उल्लेख छ। यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी पठाओ र नेपाली कम्पनी टुटलले निजी नम्बर प्लेट भएका सवारीसाधनमा भाडाका यात्रु बोक्न समन्वय गरेको भन्दै कारवाही गरेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ट्राफिक प्रहरी प्रभाग दरबारमार्गले शनिबार पाँचथान मोटरसाईकललाई कारवाही गरेको हो। प्रभागले शनिबार नियन्त्रणमा लिएका मोटरसाईकल सोमबार कम्पनीका अधिकारीको रोहबरमा प्रयोजन बिपरितको चिट काटेर अब आईन्दा अनुमति लिएर मात्र चलाउने भन्ने सहमतीमा छोडिएको छ।

महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले देशको प्रचलित कानुन बिपरित निजी नम्बरका सवारीसाधन भाडामा प्रयोग भएको गुनासो आएपछि कारवाही थालेको बताए। उनले यसको जानकारी यातायात व्यवस्था विभागलाई समेत गराएको जानकारी दिए।

‘कानून बिपरित निजी सवारीसाधनले भाडामा यात्रु बोक्न पाउँदैन,’ एसएसपी पन्तले भनेका छन्, ‘विभागमा लेखेका छौं, रोक्ने काम उसकै हो।’

नेपालमा कम्पनी ऐन अन्र्तगत दर्ता भएको टुटलले जावलाखेलमा कार्यालय राखेर काम गरिरहेको छ। काठमाडौं उपत्यकाका लागि टुटल टुडे नामक मोबाइल एप मार्फत निजी सवारीसाध भएकाहरुले दर्ता भएर भाडाका यात्रु बोक्न समन्वय गर्दै आएको छ।

यस्तै दरबारमार्गमा कार्यालय रहेको पठाओ बंगलादेशी कम्पनी हो। यात्रुहरुले मोबाइल एप मार्फत सस्तोमा यात्राको सुविधा समन्वय दुबै कम्पनी मार्फत हुँदै आएको थियो।