ओलीले कारबाहीको डण्डा चलाएपछि नेपालले गरे मायाप्रितीका कुरा
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने भन्दै स्पष्टिकरण सोधेलगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले ओलीसंगको मायाप्रितिको प्रसङ्ग निकालेका छन् ।
शनिबार राष्ट्रिय सभागृहमा आफुनिटक युवासंघ नेपालको भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओली र आफ्नो मयाप्रिती करिब पाँच दशक लामो भएकाले सानातिना कुराले नबिग्रने बताए ।
नेता नेपालले आफुहरु अझै पनि पार्टी एकताको पक्षमा रहेको कार्यक्रममा बताएका छन् । उनले आफू पार्टीका अध्यक्ष केपी ओलीसँग छुट्टिइहाल्ने पक्षमा नभएको बताएका हुन् ।
‘हामी केपी ओली विरुद्ध संघर्ष गर्छौं, हामी एकताको हात बढाउन चाहन्छौं,’ उनले भने । ‘मेरो केपी ओलीसँगको मायाप्रिती कहाँ एक रातमा टुट्ट ?’ उनले प्रश्न गर्दै भने, ‘हाम्रो मायाप्रीति त ४८ वर्ष पुरानो हो । छुट्टिइहाल्ने पक्षमा छैनौं ।’
यस्तै नेता नेपालले सर्वोच्च अदालतले एमाले ब्यूँताउने गरी गरेको फैसलालाई मान्नु आफूहरुको वाध्यता भएको बताए । ‘जन्मेको बच्चा मान्दैनौं, फेरि गर्भमा लिएर जाउ भन्नेजस्तै फैसला आयो । बच्चा जन्मिसकेको छ । नयाँ संगठन अस्तित्वमा आइसकेको छ । तर सर्वोच्चले मानेन । फैसला गलत भए पनि हामीले वाध्य भएर लागू गर्नुपर्ने भएको छ,’ उनले भने ।
नेता नेपालले दुई वटा पार्टी मिलिसकेको अवस्थामा सर्वोच्चले एकता नै भंग गर्न नहुने बताए । ‘दुईवटा पार्टी मिलिसकेका छौं । निर्वाचन आयोगले वैधानिक मान्यता दिइसकेको छ । राजपत्रमा प्रकाशित भएको छ । चुनाव लडिएको छ । तर, सर्वोच्चले भन्छ पार्टीको एकता रद्द भयो । बडो विचित्रको फैसला । नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुस भन्न सकिन्थ्यो । तर एकता नै भंग गरिदियो’, उनले भने ।