मंगलबार ओली-नेपाल भेट्दै: वार्तास्थल गोप्य
काठमाडौं- नेकपा एमालेको विवाद समाधानका लागि लागातर भैरहेको प्रयास सकारात्मक बन्दै गएको नेताहरूले दाबी गरेका छन् । दुवै पक्षका दोस्रो तहका नेताहरूले गरेको अथक प्रयासपछि नयाँ मोडमा एमाले विवाद पुगेको बताइएको छ ।
एकताकै लागि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समेत भेटवार्ता हुने भएको छ । मंगलबार उनीहरूको भेटवार्ता हुने तय भएको स्रोतको दाबी छ । एक अर्काको कटु आलोचक बनेका दुई नेताहरू भेट्ने भएपछि पार्टी पंतिमा खुशीयाली छाएको छ ।
शीर्ष दुई नेताबीचको भेटघाटले पार्टी एकतालाई सार्थक विन्दुतर्फ डोहोर्याउन सक्ने अनुमान गरिएको छ । एकले अर्काको आलोचना गरेरै विभाजनको डिलमा पुगेका दुई नेता मंगलबार दिउँसो भेट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।
सोमबार दुवै पक्षले स्थायी कमिटी बैठक सम्पन्न गरेका छन् । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीका विभिन्न नौवटा विभाग पनि गठन गरेको छ । भेटबारे धेरैकुरा खुलाइएको छैन । एक नेताका अनुसार वार्तास्थल गोप्य राखिएको छ ।