पार्टीको नेतृत्व लिन ओलीले आग्रह गरेपछि नेपालले भने: ‘गल्ती सच्चाउनुस’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधव कुमार नेपालबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवासमै भएको भेटमा पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल भएको नेपाल निकट स्रोतले जनाएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी बढेसँगै ओलीले भेटवार्ताका लागि नेपाललाई बालुवाटार बोलाएका थिए ।
भेटवार्ताका क्रममा ओलीले पार्टीमा मिलेर अगाडि बढ्ने प्रस्ताव गरेका छन् । स्रोतका अनुसार ओलीले भेटवार्ताका क्रममा भने, ‘अब मिलेर जाऔँ, पार्टीको नेतृत्व गर्नेगरी तयारी गर्नुस ।महाधिवेशनबाट तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ ।’
नेता नेपालले विधि र प्रक्रिया अनुसार अगाडि बढ्न सुझाव दिएका थिए । उनले भने, ‘म मिल्नका लागि तयार नै छु । तर विधि र प्रक्रियामा पार्टी चलाउनु पर्छ । त्यसका लागि तपाईँले गल्ती सच्चाउनु पर्छ ।’
यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले नेपालसँग भेटवार्ता गरेका थिए । कात्तिक ४ गतेको भेटवार्तामा पनि ओलीले मिलेर जानका लागि वरिष्ठ नेता नेपालसँग प्रस्ताव राखेका थिए ।
प्रचण्डसँग पछिल्ला घटनाले संवादहीनताको अवस्था उत्पन्न भएपछि ओलीले नेता नेपालसँग छलफल थालेका छन् । ओली-नेपाल संवादमा छलफल भएपनि कुनै सहमति हुन नसकेको नेपालनिकट एक नेताले बताएका छन् ।