प्रधानमन्त्री ओली र माधव नेपालबीच भनाभन ! - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रधानमन्त्री ओली र माधव नेपालबीच भनाभन !



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको एउटा अनौठो स्वभावले आफ्नै पार्टी तथा विपक्षका उच्च नेताहरु समेत पीडित छन् । ओलीको त्यो अनौठो स्वभावको पोल आज सार्वजनिक रुपमा खुलेको छ ।

प्रधानमन्त्री ओली कुनै पनि कार्यक्रममा समयमा पुग्दैनन् । यो उनको पूरानो स्वभाव हो । यो स्वभावजन्य कमजोरी हो कि नियोजित हो ? प्रधानमन्त्री ओलीलाई लामो समयदेखि चिन्नेहरुका अनुसार उनको यो स्वभावजन्य कमजोरी होइन, सुनियोजित हो ।

घरमा भेट्न आउनेहरुलाई पनि उनी घन्टौं कुराउँछन् । कार्यक्रममा जानुपर्दा जानाजान ढिला जान्छन् । कतिसम्म भने पहिलो पटक प्रधानमन्त्री भएर भारत गएको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनले अनौपचारिक भेटको बेला आधा घन्टा कुराइदिएका थिए । फर्केर नेपाल आएपछि उनले निकटहरुसँग मोदीलाई आफूले आधा घन्टा कुराइदिएको घटना गर्वसाथ सुनाएका थिए ।

नारायणकाजी श्रेष्ठले नेकपाबाट दिएको राजीनामा पत्रमा पनि प्रधानमन्त्री ओलीको अरुलाई कुराएर राख्ने सुनियोजित स्वभावको उल्लेख भएको बुझिन्छ । आज तुल्सीलाल अमात्यको स्मृतिमा आयोजित एक कार्यक्रममा नारायणकाजी पहिले नै पुगेका थिए, प्रधानमन्त्री पुगेनन् । सो कार्यक्रममा नारायणकाजीले प्रधानमन्त्रीको जानाजान कार्यक्रममा ढिला आउने स्वभावबारे चर्चा गर्दै आक्रोश पोखेका थिए ।

नारायणकाजीले कुनै पनि ठाउँमा ढिला पुग्ने र अरुलाई कुराउने काम ओलीले सुनियोजित रुपमा गर्ने गरेको आशय व्यक्त गरे ।

अरुलाई कुराउने, भनेको समयमा नभेट्ने स्वभावकै कारण ओलीको कांग्रेस नेता कृष्ण सिटौलासँग सम्बन्ध बिग्रेको बताइन्छ । जानकारहरुका अनुसार प्रतिपक्षमा रहँदा सिटौला र ओली बारम्बार सल्लाह गर्थे । भेट्ने थलो र समय निर्धारण भएपछि ओली कहिल्यै समयमा पुग्दैनथे । पछि सिटौलाले जानाजान ओलीले आफूलाई कुराएको थाहा पाए, त्यसपछि सम्बन्ध बिग्रँदै गयो । अहिले नारायणकाजीसँग पनि त्यस्तै हुन लागेको छ ।

ओलीले जानाजान अरुलाई कुराएर दुःख दिने गरेको सम्बन्धमा माधव नेपालसँग झगडा नै परेको जानकारहरु बताउँछन् । त्यसबेला नेपाल एमालेका महासचिव थिए । स्थायी समितिको वैठकमा ओलीले कुराएको विषयमा माधव नेपालले कुरा निकाले । त्यसपछि दुईजनाको भनाभन नै परेको श्रोतले जनाएको छ ।

‘ओलीको स्वभाव घमण्डी छ, अरुलाई कुराउनु र समयमा नपुग्नुमा गर्व ठान्छन्, यो कारण पनि दुई तिहाईको दम्भ भन्ने शब्दावली विकास भएको हो,’ कांग्रेसका एक नेताले भने ।

कार्यक्रममा निर्धारित समयमा जानाजान नपुग्नु ओलीको विशेषता नै देखिएको छ ।