नेम्वाङलाई प्रधानमन्त्री बनाउन ओलीले प्रस्ताव गरेपछि... - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेम्वाङलाई प्रधानमन्त्री बनाउन ओलीले प्रस्ताव गरेपछि…



काठमाडौँ – आफूलाई पदबाट हटाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय भएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्।

ओलीले आफूले प्रधानमन्त्री पद त्याग्नु पर्ने भए सहमतिमै नेम्वाङलाई प्रधानमन्त्री बनाउने तुरुप फ्याकेका हुन्। स्रोतका अनुसार बुधबार दिउँसो ओली प्रचण्डबिच अरु केही नेताबिच भएको छलफलमा ओलीले नेम्वाङको नाम अघि सारेका हुन्।

ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरु मलाई हटाउने नै हो भने हामी बाहेकबाट विकल्प खोजौँ। मेरो त प्रस्ताव त सुवास जीलाई प्रधानमन्त्री बनाऔँ।’ ओलीको प्रस्तावप्रति दाहालले कुनै प्रतिक्रिया नजनाएको बताइएको छ।

नेकपाभित्र ओलीले विधि र प्रक्रिया मिचेर स्वाइच्छाचारी रुपमा पार्टी र सरकार चलाएको आरोप दाहाल नेपाल पक्षले लगाएको छ।

उनीहरुले यसपटक ओलीलाई दुवै पदबाट राजीनामा गराउने रणनीतिका साथ अघि बढाएका छन्। ओलीलाई राजीनामा गराउने पक्षमा स्थायी समितिका ४५ मध्ये ३० जना सदस्य दाहाल नेपाल पक्षमा उभिएका छन्।