'ओली नेकपाको प्रथम अध्यक्ष नभएको दाबी' - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

‘ओली नेकपाको प्रथम अध्यक्ष नभएको दाबी’



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टी र चुनाव चिन्हबारे दाबी पेश गरेको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङ, लिलामणी पोखरेल, भिम रावल, वेदुराम भुषाल, घनश्याम भुसाल, वर्षमान पुन लगायतका नेताहरु मंगलबार दिउसो आयोगको कार्यालय पुगेर दाबी पेश गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले दुई पटक बसेको केन्द्रीय समिति बैठकले आफुहरु नै बैधानिक नेकपा भएको प्रमाणित गरिसकेकाले आवश्यक कागजातसहित आयोग पुगेर दाबी पेश गरेको जानकारी दिए ।

त्यस्तै अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेकपाको पहिलो अध्यक्ष नभएको दाबी गरेका छन् । उनले आयोग पुगेर ओली विगतमा पनि प्रथम अध्यक्ष नरहेको र अहिले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भइसकेको बताएका हुन् ।

नेता राजेन्द्र पाण्डेले आयोगले माघ १२ गतेको पत्रमा ओलीलाई पहिलो अध्यक्ष मानेको हुनाले त्यो भ्रम मेटाउने प्रयत्नस्वरुप आफूहरुले ओलीलाई अध्यक्ष र साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको बताए ।

‘निर्वाचन आयोगले केपी ओलीलाई प्रथम अध्यक्ष मानेको छ । उहाँहरुले केही प्रश्न उठाउनुभएको छ,’ नेता पाण्डेले भने, ‘त्यसलाई हामीले भ्रम निवारण गर्ने र केपी ओली प्रथम अध्यक्ष होइन भनेका छौं । विधानमा जसले अध्यक्षता गरेको छ उही प्रथम हुने व्यवस्था गरेको कुरा बताएका छौं ।’

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न दाबीसहितको पत्र, बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षरलगायतको कागजपत्र आयोगमा बुझाइएको छ ।

यो समूहले नेकपा फुटिसकेको र आफूहरु आधिकारिक पार्टी भएको दाबी गर्दै आइरहेको छ । प्रचण्ड–नेपाल समूहले आफुहरुसँग ४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय भन्दा बढी रहेको बताएको छ ।