ओलीले एमालेकै नारा बिर्सिएपछि... - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओलीले एमालेकै नारा बिर्सिएपछि…



नेकपा एमालेको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम चलिरहेको थियो । अध्यक्ष केपी शर्मा ओली धाराप्रवाह बोलीरहेका थिए तर फ्याट्ट एमालेको नारा नै बिर्सिए । त्यसपछि नेताहरू र उपस्थित कार्यकर्ताले मुखामुख गरे ।

स्थानीय निर्वाचनका लागि एमालेले तय गरेको एउटा प्रमुख नारा बिर्सिएपछि ओलीले नेताहरूलाई सोधेका थिए। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा एमालेको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दाबोल्दै ओलीले नारा बिर्सिएका थिए ।

स्वागत गर्ने क्रमको अन्तिम बेलामा उनले एमालेको मुख्य नारा भन्दै थिए तर सम्झिन सकेनन्। आफू अक्कमक्क परेपछि सँगै बसेका नेताहरूलाई ओलीले सोधे ‘सात सूर्य… के छ रे हाम्रो नारा…?’

नेताहरूला बताएपछि भने उनले नारा लगाए ‘सात सूर्य सात छाप, नेकपा एमाले जिन्दावाद…’ योसँगै उनले आफ्नो मन्तव्य पनि सकेका थिए। सम्बोधनका क्रममा ओलीले अहिले सिङ्गो देश ‘एमाले स्ट्यान्डर्ड’मा चलिरहेको दाबी गरे।

उनले देशका सारा नीतिहरू एमाले नीति भएको पनि बताए।‘एमाले नीति नै राष्ट्रिय नीति हो। राष्ट्रिय नीति नै एमाले नीति हो’ उनले भने ‘किनकि देशको नेतृत्व गर्ने पार्टी नै एमाले हो।’