माओवादीको महाधिवेशनमा ओली सहभागी नहुने - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

माओवादीको महाधिवेशनमा ओली सहभागी नहुने



काठमाडौं। नेकपा (माओवादी –केन्द्र)को आठौँ महाधिवेशनमा (नेकपा –एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन हाल झापामा रहेको कारण देखाउँदै ओलीले आफू उद्घाटन समारोहमा सहभागी हुन नसक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन्।

पार्टीको आठौँ महाधिवेशनमा सहभागी हुन अध्यक्ष प्रचण्डले गरेको निमन्त्रणामा ओलीले आफ्नो तर्फबाट महासचिव शंकर पोखरेल कार्यक्रममा सहभागी हुने जानकारी गराएका हुन्।

यसअघि १० मंसीरमा चितवनमा उद्घाटन भएका एमालेको १० औँ महाधिवशेनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि सहभागी भएका थिएनन्। पार्टीका कामका लागि बाहिर रहेको बताउँदै दाहालको ठाउँमा पार्टीका नेता लिलामणी पोखरेल चिवतन पुगेका थिए।

२४ मंसीरमा काठमाडौंको भृकुटीमण्डमा आयोजना भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भने एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल सहभागी भएका थिए।

करिब एक वर्षपछि कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा दुई पार्टीका अध्यक्ष आमने सामने भएका थिए।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताए पनि अन्तिम समयमा आएर राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको रुप दिइएको हो। पार्टीको महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पार्टीले एमालेसहित नेपाली कांग्रेसलगाएका ११ दललाई आमन्त्रण गरेको छ।
पार्टीको महाधिवेशन आइतबार अपरान्ह तीन बजे प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।