सभामुखले बोलाएको छलफलमा जान किन डराए प्रधानमन्त्री ?
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले राजनीतिक परामर्शका लागि प्रधानमन्त्रीसहित शिर्ष नेताहरूलाई बोलाएका थिए ।
सभामुख सापकोटाले जेठ २८ गते शुक्रबारका लागि प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीहरू, प्रमुख दलका शीर्ष नेताहरूलाई राजनीतिक परामर्शका लागि पत्र काटेर बोलाएका छन् । तर प्रधानमन्त्री ओली भने छलफलमा नजाने भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको सभामुख सापकोटासँग पहिलेदेखि नै सम्वन्ध राम्रो छैन । तिक्त सम्बन्धकै कारण उनी सभामुखले बोलाएको छलफलमा सहभागी नहुने भएका हुन् ।
संसद विघटनकै बिषयमा छलफल हुने भएकाले पनि प्रधानमन्त्री ओली उपस्थित नहुने स्रोताए बताउँछ । एमालेका स्थायी समिति सदस्य सुवास नेम्वाङले सभामुखको बैठकबारे प्रधानमन्त्रीलाई जानकारी नभएको भन्दै उपस्थित नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सभामुख सापकोटाले तिब्र असन्तुष्टि जनाएका थिए, सशक्त प्रतिवाद गर्नुपर्ने आशय पनि प्रकट गरेका थिए । त्यसपछि पनि सभामुख संसद ब्युँताउन विभिन्न परामर्श गरिरहेका छन्।