प्रधानमन्त्रीमा ओली नै रहने पक्का - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

प्रधानमन्त्रीमा ओली नै रहने पक्का



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै निरन्तर अगाडी बढ्ने पक्का जस्तै बनेको छ । जनता समाजवादी पार्टी नेपाल पार्टी फुटाएरै भए पनि ओलीलाई समर्थन गर्ने मुडमा पुगेपछि यस्तो अवस्था बनेको हो।

प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) मा सरकारमा जाने कि नजाने भन्ने विषयमा तीव्र मतभेद भैरहेकै बेला जसपाको एक ठुलो समुहले प्रधानमन्त्री ओलीसंग सहमति गरिसकेको स्रोतले दाबी गरेको छ ।

जसपाभित्र राजपा पक्षधर ओली नेतृत्वकै सरकारले माग पूरा गरेमा जानुपर्ने तयारीमा छन् तर पूर्वसमाजवादी पार्टी ओलीको विपक्षमा छन् ।

संसद् विघटन, संविधानको कार्यान्वयन र संघीयता समाप्त पार्न ओली नै लागेको आरोप लगाउँदै पूर्वसमाजवादी पार्टीका नेताहरुले सार्वजनिकरुपमा ओलीलाई समर्थन गर्न नसकिने बताउँदै आएका छन् ।

सोमबार पूर्वराजपाका सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक छलफलमा जुटेका थिए । सिंहदरबारमा भएको छलफलमा उपेन्द्र यादव र बाबुराम भट्टराई निकटका सांसद भने उपस्थित थिएनन् ।

पूर्वसमाजवादी समूहले नमाने पार्टी फुटाएर पनि सरकारमा जानुपर्नेसम्मको बहस पूर्वराजपा समूहभित्र चलिरहेको छलफलमा सहभागी एक सांसदले बताए ।

तर जनता समावादी पार्टीका नेता राजेन्द्र महतोले अहिले पार्टीभित्र कुनै विवाद नरहेको बताए । उनले अहिले आफूहरुको माग जसले पूरा गरिदिन्छ उसैसँग सहकार्य हुने बताए ।

महतोले यस्तो भनिरहँदा स्रोतले भने हिजोको बैठकमै ओलीलाई नै समर्थन गरेर अगाडी बढ्ने कुरा टुंगिएको दाबी गरेको छ । जसपाका कतिपय नेताहरूका अनुसार ओलीलाई बाहिर राखेर उनीहरूका माग पुरा हुने अवस्था पनि नभएकाले ओलीलाई नै समर्थन गर्ने तयारीमा उनीहरू पुगेका छन् ।

त्यसैले ओली नेतृत्वको सरकारमा सहभागी हुँदा संविधान संशोधन गर्न नसके पनि चौधरी रिहाइ, थरुहट र मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गराउन सकिने भएकाले यही सरकार ‘कम्फर्टेबल’ हुने पूर्वराजपा समूहका नेताहरुको निष्कर्ष रहेको सोमबार छलफलमा रहेका एक सांसदको निष्कर्ष छ ।