ओली नै एमाले पार्टी फुटाउन लागिपरेको आरोप
काठमाडौं- सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहले भोलि र पर्सि आयोजना गरिएको गुट भेला पार्टी एकताकै लागि भएको दाबी गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेताहरूले केपी ओली समूह पार्टी फुटाउन अग्रसर रहेको प्रत्यारोप लगाए ।
नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘पार्टी विभाजनको आरम्भ ओलीजीले गर्नुभएको हो । २८ गतेको बालुवाटार वैठकले विभाजनको बिजारोपण गरेको हो । ती सबै निर्णय फिर्ता नभएसम्म पार्टी एकता सम्भव छैन ।’
आफूहरुले गरेको गुट भेला भने विधानसम्मत रहेको उनले प्रष्ट पारे ।
‘पार्टीको विधानले यस्ता भेला तथा राजनीतिक गतिविधि गर्ने छुट दिएको छ । भोलि र पर्सिको भेला पार्टी एकताको सुदृढीकरणका लागि हो ’, पाण्डेले भने ।
उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कारबाहीको धम्कीबाट नतर्सिने बताएका छन् ।
उनले अध्यक्ष ओली स्वयं चाहिँ गलत आधारमा उभिएको बताउँदै पार्टी विधानविपरित गतिबिधि गर्ने अध्यक्ष पनि कारबाहीको भागिदार हुने बताए ।
उनले भने, ‘आफैं गलत आधारमा खडा भएको अध्यक्ष कारबाहीको भागीदार हुन्छ कि हुँदैन ? त्यो अस्तिको कदम नै गलत र कारबाहीयोग्य थियो । यसप्रकारको कारबाहीको कुरा गर्नु कार्यकर्तालाई अनावश्यक तर्साउन खोजिएको मात्र हो ।’
अदालतले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले राखेका बैठक र त्यहाँबाट गरिएका निर्णय नै अवैधानिक भएको उनको भनाइ छ ।