ओली–मोदी केमेष्ट्री मिलेको छः सिंह
भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल हुने विश्वास दिलाए । मोदीले तीन पटक नेपालको भ्रमण गर्नु अभुतपूर्व हुने उनको भनाई थियो ।
मोदीले नै नेपाल र भारतबीच कायम रहेको उच्चस्तरीय भ्रमण आदानप्रदानको खडेरी समेत समाप्त पारेको सिंहले बताए ।
उनले भने,‘द्धिपक्षीय उच्चस्तरीय भ्रमण भैरहेका छन्, नेपाल भ्रमणको क्रममा उहाँले संसदमा सम्बोधन गर्नुभयो, त्यसले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको थियो ।’
मोदीको पहिलो नेपाल भ्रमणले आपसी सहयोगको ढोका समेत खोलिदिएको सिंहले स्पष्ट पारे । उनले भने,‘उहाँले संसदमा सम्बोधन गर्दा ईन्फरमेशन हाईवेज, टा«न्समिसन हाईवेज, भौतिक पूर्वाधारमा जोड दिनुभएको थियो, अब यसको विकासमा उहाँबाट कमिटमेन्ट खोज्नुपर्छ ।’
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको छोटो समयमा नै भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेको उल्लेख गर्दै सिंहले भने,‘ओलीजीको भारत भ्रमणको बेला रेलमार्ग र जलमार्गको रोडम्यापबारे छलफल भयो, आयोजना तथा परियोजनाको सुरुवात भएको छ, यो अत्यन्तै राम्रो हो ।’
मोदी र ओलीबीचको ‘केमेष्ट्री एण्ड अण्डरस्ट्याण्डिङ्’ मिलेको उनको भनाई थियो । उनले भने,‘भारतलाई नेपालको र नेपाललाई भारतको सहयोगको आवश्यक छ, यही भावनालाई बुझेर द्धिपक्षीय सम्बन्ध अघि बढ्नुपर्छ ।’ ओली र मोदीबीचको एक्लाएक्लै भेटवार्तामा पनि महत्वपूर्ण कुराहरु भएकोले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा आशाका किरणहरु देखिएको उनले जनाए ।
यसअघि भएका नेपाल र भारतबीचका सन्धि तथा सम्झौताहरु अब कार्यान्वयनको चरणमा लैजानुपर्ने उनले जनाए । सिंहले भने,‘पञ्चेश्वर परियोजना कोल्ड स्टोरेजजस्तै बनेको छ, हुलाकी राजमार्ग र जलविद्युतजस्ता परियोजनाहरुलाई अघि बढाउनुपर्छ, सही गर्ने मसी सुक्दै जाने काम नहोस् ।’ मोदीको नेपाल भ्रमण आवश्यक भएकोले जनतालाई निराशाबाट आशातिर लैजान फलदायी हुनेमा आफू विश्वस्त रहेको सिंहले जनाए ।