ओली र मोदीको ‘ब्रेकफास्ट’ बैठक भोलि बिहान - यस्ता छन् अन्य कार्यक्रम - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

ओली र मोदीको ‘ब्रेकफास्ट’ बैठक भोलि बिहान – यस्ता छन् अन्य कार्यक्रम



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन आज त्यसतर्फ जाँदैछन् । आज साँझ सातबजे नयाँ दिल्लीमा हुने मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली नयाँ दिल्ली जान लागेका हुन् । उनी नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः३५ बजे त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बिहीबार बाह्रखरीसँगको कुराकानीमा बताए । उनका अनुसार प्रधानमन्त्री ओली भोलि साँझ करिब ५ः३० बजे स्वदेश फर्किनेछन् ।

उनी बिहीबार साँझ भारतको राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् । उनले भारतीय समकक्षी मोदीसँग शुक्रबार बिहान ब्रेकफास्ट बैठक गर्ने बुझिएको छ । सो बैठक करिब आधा घण्टाको हुने भएकोले त्यसमा एजेण्डागत रुपमा कुरा हुन नसक्ने अवस्था रहेपनि समग्र रुपमा दुई देशबीचको सम्बन्धको समीक्षा हुने बुझिएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिने जनाइएको छ । मोदीको शपथग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र, किर्गिस्तान र मोरिससका कार्यकारी प्रमुखलाई शपथ ग्रहण कार्यक्रममा बोलाइएको भारतीय विदेश मन्त्रालयले यसअघि नै घोषणा गरिसकेको छ ।