शंकरको कुर्ची जोगाउन महतोको शंकास्पद गतिविधि: सत्तापक्षको भागाभाग - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

शंकरको कुर्ची जोगाउन महतोको शंकास्पद गतिविधि: सत्तापक्षको भागाभाग



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो एकाएक लुम्बिनी प्रदेश पुगेका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सरकार बचाउने अभियानका लागि उनी त्यहाँ पुगेको बुझिएको छ ।

मंगलबार काठमाडौंबाट कपिलवस्तु पुगेका उनले पोखरेलको सरकार बचाउन आफू यहाँ आएको भन्दै निकट नेताहरूलाई बताएका थिए । महतोले मंगलबार नै कपिलबस्तुमा कार्यकर्ता भेटघाट गरेको बुझिएको छ ।

कपिलवस्तु नगरपालिकाको सभाहलमा जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा महतो पुगेको बताइएको छ । उनले सभामा केपी ओलीको गुनगान गाउँदै लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार नै रहनुपर्ने बताएका थिए। कार्यक्रममा उनले उपेन्द्र यादव लगायत अहिलेको सत्ता गठबन्धनको भने सत्तो सराप गरेका थिए ।

कार्यकर्ता भेटघाटपछि नेता महतो शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फेल गराउने अभियानमा लागेको बताइएको छ । महतोलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा शंकरविरुद्धको अविश्वास प्रस्ताव फेल गराउनु भन्दै त्यहाँ पठाएको स्रोतको दाबी छ।

आफ्ना कार्यकर्ता भेटेर नेता महतो शंकास्पद गतिविधिमा लागेपछि लुम्बिनीका सत्तापक्ष सशंकित बनेको छ । स्रोतका अनुसार प्रदेश सरकार जोगाउन विभिन्न खालका शंकास्पद गतिबिधि भैरहेका छन् । महतो जस्ता धेरैवटा टोली अविश्वास प्रस्ताव फेल गराउनकै लागि लागिरहेको बताइएको छ ।

यस्तै शंकास्पद गतिबिधि बढेकाले सत्तापक्षका सांसदहरू भने एक रिसोर्टबाट अर्को रिसोर्टमा भागाभाग गरेका छन् । उनीहरूलाई दुई दिनदेखि रिसोर्टमा राखिएको छ । मंगलबार मात्रै शंकास्पद गतिबिधि बढेपछि अर्को रिसोर्टमा सारिएको छ ।

लुम्बिनी प्रदेशसभाको विशेष बैठक र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पेश भएको अविश्वास प्रस्तावलाई फेल गराउन विभिन्न शक्तिहरू लागिरहेको बताइएको छ ।