सरकारमा जानेबारे ओली र ठाकुरबीच कुरा मिलेन: छलफल जारी - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

सरकारमा जानेबारे ओली र ठाकुरबीच कुरा मिलेन: छलफल जारी



काठमाडौं- सरकारमा सहभागी हुन पुरै तयारी गरेको जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोलाई झट्का लाग्ने देखिएको छ । सरकारमा सहभागी हुनका लागि लामो समयदेखि संवादमा रहेका उनीहरूले डिमाण्ड गरेका मन्त्रालय नपाउने भएपछि तनावमा परेका छन् ।

प्रधानमन्त्री केपी ओलीसँग लगातार छलफल र वार्ता गर्दापनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ओलीले ठुला मन्त्रालय दिन ओलीले मानेका छैनन् । स्रोतका अनुसार गृहसहितका ठुला मन्त्रालय मधेशी दलले मागेका थिए । उनीहरूले चाहेका मन्त्रालय ओलीले कुनै पनि हालतमा दिन नसक्ने बताएपछि वार्ता भाँडिने सम्भावना बढेको छ ।

जसपाबाट राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, सरतसिह भण्डारी, लक्ष्मणलाल कर्ण, सर्बेन्दनाथ शुक्ला, उमासकर अरगरिया, बिमल श्रीवास्तव, चन्दा चौधरी, एकबाल मियाँ र प्रमोद साहलगाय नेतामध्ये आठ मन्त्री र दुई राज्यमन्त्री सरकारमा सहभागी हुने तयारी गरेका छन् । यस्तो तयारी गरेका बेला अन्तिम समयमा उनीहरूबीच कुरा मिलेको छैन ।

स्रोतका अनुसार बिहिबार मध्यरातिसम्म उनीहरू मन्त्रालयमै कुरा नमिलेका कारण छलफलमा थिए । शुक्रबार पनि उनीहरू मन्त्रालयकै कुरा मिलाउन बिहानैदेखि छलफलमा जुटेका छन् ।

ठाकुर र महतोले माओवादी केन्द्रका मन्त्रीहरूले छोडेका मन्त्रालयमा दाबी गरिरहेका छन् भने ओलीले ठूला मन्त्रालय दिन नसकिने बताएक छन् । पहिले महतोले गृहमन्त्रालय सहितका केहि मुख्य मन्त्रालय माग गर्दा ओलीले उपप्रधानमन्त्री बनाउन सकिने बताएका थिए । अहिले उनले त्यो पनि दिन नचाहेको स्रोतको दाबी छ । उहीहरू अहिले पनि सहमति खोज्न छलफलमै छन् ।