ओलीले माधवलाई सुनाए हनुमानको कथा, - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

ओलीले माधवलाई सुनाए हनुमानको कथा,



एमाले अध्यक्ष केपी ओलीले एमालेलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैँ समाप्तिको दिशामा रहेको बताएका छन् । पार्टी केन्द्रीय सल्लाहकार परिषद् बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले एमाले झन्–झन् शक्तिशाली बनिरहेको दाबी गरे ।

‘रामायणमा एउटा कथा आउँछ । वायुपुत्र हनुमान असाध्यै शक्तिशाली थिए । उनले जन्मिनेबित्तिकै यसो हेरेछन्, घामतिर हेर्दा पोटिलो राम्रो लागेछ । खानुपर्‍यो भनेर दौडिएर नजिकै पुगेछन्, खाउँ भन्दा थुतुनो जल्यो,’ माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर इसारा गर्दै ओलीले भने, ‘एमाले सिध्याउँछु भनेर दौडिनेहरूको थुतुनो आज त्यसैगरी जलिरहेको छ, एमालेको सूर्य सिध्याउँछु भनेर खान खोज्नेहरू आफैँ सकिँदै छन् ।’

ओलीले एमालेले अरूका पात झार्ने बताए । ‘एकपटक त भाषण गर्दै जाँदा माधव नेपालले एमालेको सूर्य चिह्न पत्तासाफ हुन्छ भने । मैले अस्ति बोलेको थिएँ, सूर्यमा पत्तै हुँदैन कहाँबाट पत्तासाफ ?’ ओलीले भने, ‘जसका पात छन्, त्यसका झर्छन्, सूर्यको पातै हुँदैन । सूर्यले त झार्ने मात्र काम गर्छ ।’

एमालेविरुद्ध लड्न पाँच दलले नपुगेर विस्तार गरेर ६ दलीय गठबन्धन बनाएको उनको भनाइ थियो । ‘पाँचदलीय गठबन्धन अब ६ दलीय भइसक्यो । झापाको मेरै निर्वाचन क्षेत्रमा राजवादी राप्रपाको उम्मेदवारलाई सहयोग गर्ने भनेर आई नै सक्यो । त्यसकारण पाँचदलीय होइन, ६ दलीय गठबन्धन भइसक्यो,’ ओलीले भने ।

ओलीले संसद् विघटन नगरेको भए पार्टी माधव र प्रचण्डको कब्जामा पुगेर ध्वस्त भइसक्नेसमेत बताए । ‘विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ । नत्र प्रचण्ड–माधव जस्ताको कब्जामा गएर एमाले ध्वस्त भइसक्थ्यो,’ उनले भने ।