लकडाउन नगर्ने पक्षमा प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सरकारले वैशाख ६ मा गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन्।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना संक्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा उनले वैशाख ६ मा सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका हुन् ।
सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन लगायत विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले प्रधानमन्त्री ओलीलाई ब्रिफ्रिङ गरेका थिए।
बैठकमा सहभागी उद्योग,वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले बैठकमा तत्काल लकडाउन गर्ने अवस्था नभएको भन्दै सिमा नाका,काठमाण्डु प्रवेश गर्ने नाका र अन्य आवश्यक तयारी गर्ने निर्णय भएको जानकारी दिए । लकडाउन गर्नुपर्ने अवस्था भए जिल्ला प्रशासन र स्थानिय निकायलाई उक्त अधिकारी दिइएको र कडाईका साथ स्वास्थ्य मापदण्ड लागु गर्नुपर्ने धारणा प्रधानमन्त्रीले बैठकमा राखेका थिए ।
सम्बन्धित मन्त्रालय र सीसीएमसीका अधिकारीहरुको ब्रिफिङपछि ओलीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले थप के-के काम गर्नुपर्छ, त्यसबारे सीसीएमसीले छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिएका थिए ।
यस्तै उनले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना संक्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।