सिङ्गापुर बनाउनेका अगाडि नेपाल बनाएर देखाइदिन्छु: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । उनले प्रचण्डतर्फ संकेत गर्दै सिङ्गापुर बनाउनेका अगाडि आफूले नेपाल बनाएर देखाउने बताएका छन् ।
ट्रेड युनियन महासंघ जिफन्टको सातौं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपलालाई घुम्न लायक देश बनाउने उद्घोष गरेका छन् ।
‘कोही–कोहीले नेपाललाई सिङ्गापुर बनाउँछु भने, तर म नेपाललाई नेपाल बनाउँछु,’ ओलीले प्रचण्डलाई संकेत गर्दै भने, ‘विश्वको सुन्दर देश घुम्न लायक देश कुन हो भन्दा सबैले नेपाल भन्ने छन्, सिंगापुर र स्वीट्जरल्याण्डबाट पनि घुम्न नेपाल आउने छन् ।’
साथै उनले जनताले आफूहरुमाथि ठुलो अपेक्षा राखेकालाई त्यसलाई पूरा गर्नुपर्ने बताए ।
‘जनताले हामीप्रति ठूलो अपेक्षा राखेका छन् । हामीले त्यसलाई पूरा गर्नुपर्नेछ । अबको हाम्रो नीति नियमित जस्तो होइन्, हाम्रो गति नियमित जस्तो होइन्, फरक हुनेछ ।’
साथै अोलीले सुशासनका लागि आफूहरु आक्रमणमा उत्रिने बताए ।
‘अब नारा होइन आक्रमण हुन्छ, हामी सुशासनका लागि काम गर्छौँ, भ्रष्टाचारमाथि आक्रमण गछौँ, गरिबी अशिक्षा माथि आक्रमण गर्छौँ,’ उनले भने ।
ओलीले सरकारले जेठमा नीति तथा कार्यक्रम ल्याउने प्रष्ट पारेका छन् ।