प्रचण्डलाई यसरी गिज्याए केपी ओलीले - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

प्रचण्डलाई यसरी गिज्याए केपी ओलीले



प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । उनले प्रचण्डतर्फ संकेत गर्दै सिङ्गापुर बनाउनेका अगाडि आफूले नेपाल बनाएर देखाउने बताएका छन् ।

ट्रेड युनियन महासंघ जिफन्टको सातौं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपलालाई घुम्न लायक देश बनाउने उद्घोष गरेका छन् ।

‘कोही–कोहीले नेपाललाई सिङ्गापुर बनाउँछु भने, तर म नेपाललाई नेपाल बनाउँछु,’ ओलीले प्रचण्डलाई संकेत गर्दै भने, ‘विश्वको सुन्दर देश घुम्न लायक देश कुन हो भन्दा सबैले नेपाल भन्ने छन्, सिंगापुर र स्वीट्जरल्याण्डबाट पनि घुम्न नेपाल आउने छन् ।’

साथै उनले जनताले आफूहरुमाथि ठुलो अपेक्षा राखेकालाई त्यसलाई पूरा गर्नुपर्ने बताए ।

‘जनताले हामीप्रति ठूलो अपेक्षा राखेका छन् । हामीले त्यसलाई पूरा गर्नुपर्नेछ । अबको हाम्रो नीति नियमित जस्तो होइन्, हाम्रो गति नियमित जस्तो होइन्, फरक हुनेछ ।’

साथै अ‍ोलीले सुशासनका लागि आफूहरु आक्रमणमा उत्रिने बताए ।

‘अब नारा होइन आक्रमण हुन्छ, हामी सुशासनका लागि काम गर्छौँ, भ्रष्टाचारमाथि आक्रमण गछौँ, गरिबी अशिक्षा माथि आक्रमण गर्छौँ,’ उनले भने ।

ओलीले सरकारले जेठमा नीति तथा कार्यक्रम ल्याउने प्रष्ट पारेका छन् ।

‘सरकारले जेठमा नीति तथा कार्यक्रम ल्याउँछ, हामी जेठ कुर्दैनौँ वैशाखमै निरक्षरता माथि आक्रमण गर्छौँ,’ उनले अगाडि भने, ‘मैले गरिब विपन्न बालिकालाई विद्यालय पुर्याउँछु, हरेक मन्त्री सांसद र निर्वाचित जनप्रतिनिधिले एउटा बालक वा बालिका विद्यालय पुर्याउने छन् ।’

ओली चैत ३० गते रारा जाने भएका छन् । कर्णाली प्रदेशले २०७५ लाई कर्णाली भ्रमण वर्ष मनाउन लागेको भन्दै प्रधानमन्त्री ओलीले आफू कर्णाली प्रदेशको पहिलो पर्यटक बन्ने बताए ।

‘म चैत ३० गते नै रारा जान्छु, त्यहाँ रात बिताउँछु,’ उनले भने, ‘नयाँ वर्षको शुभकामना राराबाटै दिन्छु, म नयाँ वर्षकै दिन राराको पहिलो पर्यटक बन्छु ।’

प्रधानमन्त्री ओलीले स्वस्थानीको कथा स्मरण गर्दै अगाडि भने, ‘आफ्ना सन्तान विद्यालयमा तपाईँले भर्ना गर्नैपर्छ, आफ्नो छैन् भने मितबाको छोरो लैजानुस, त्यो पनि छैन छिमेकीको लैजानु, छिमेककै नभए अलि परको लैजानुस, तर लैजानुस ।’

‘हाम्रो विगतको कमजोरीलाई खोतलेर हाम्रो समृद्धितर्फको यात्रा रोक्न खोज्नेहरु छन्, हाम्रो विविधतामा खेल्न खोज्नेहरु छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी होसियार हुनुपर्छ, हाम्रो विविधता हाम्रो सम्पती हो, यसलाई कायम राख्नुपर्छ । हामीलाई लडाएर खान खोज्ने तत्वहरु धेरै छन् तीनिहरुलाई परास्त गरेर अगाडि बढ्नुछ ।’

प्रधानमन्त्री ओलीले नेपालको संविधान सर्व स्वीकार्य भएको भन्दै अगाडि भने, ‘कोही कोही चन्दा उठाएर खान खोज्नेहरुले संविधान मान्दिन भन्छन्, अशान्ति फैलाउन खोज्छन्, उनीहरुलाई सरकारले रोक्छ ।’

कम्यूनिष्टहरुले समृद्धि ल्याउन नसक्ने भ्रम रहेको भन्दै उनले अगाडि भने, ‘भ्रम चल्ने गरेको छ कम्युनिस्टहरु गरिबी वितरण गर्न सक्छ समृद्धि सक्दैन अहिले नेपालमा कम्युनिस्ट सरकार छ । यही सरकारले समृद्ध नेपाल बनाउँछ ।’