ओलीले गरे सरकार नढल्ने दाबी - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

ओलीले गरे सरकार नढल्ने दाबी



दमक(झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि आरोपको ओथोरा लगाएर बस्दैमा सरकार नढल्ने दाबी गरेका छन्।

दशैँ लक्षित कार्यक्रका लागि बिहीबार गृहजिल्ला झापा आएका उनले बिर्तामोडमा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा सरकारविरुद्ध प्रतिपक्षीले अनेक आरोप लगाइरहेको भन्दै ती आरोप र तर्कले सरकारलाई केही फरक नपार्ने पनि बताए। आफैँले आयोजना गरेको दशैँ शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्दै हल्ला फैलाउने र षड्यन्त्र गर्नेको षड्यन्त्रका ओथारा काम नलाग्ने टिप्पणी गरेका हुन्।

उनले सरकारको प्राथमिकता नै नागरिकलाई सेवा सुविधा दिने, सुशासन कायम गर्ने र विकासलाई तीव्रता दिने रहेको दाबी गरे। प्रधानमन्त्री ओलीले धेरै नागरिकको चाहनाले नै अहिलेको सरकार बनेको र आफूलाई प्रधानमन्त्री बनाएको बताउँदै सरकार सुशासनको बाटोबाट पछि नहट्ने दृढता व्यक्त गरे। सरकारको लक्ष भनेकै राष्ट्रिय संकल्प पूरा गर्ने र सो संकल्प भनेकै सुसासन र विकास रहेको उनको भनाइ छ। उनले बिहीबार नै झापा जिल्ला रेडक्रस सोसाइटीको स्वर्ण महोत्सव स्मारिका विमोचन गरे।

विमोचन कार्यक्रममा ओलीले झापा जिल्ला रेडक्रसले ५० वर्षमा ठूलो योगदान गरेको उल्लेख गरे। ओली बिहीबार अपराह्न नै आफ्ना बुबालाई साथमा लिएर काठमाडौं फर्किए। उनी बिहीबार जिल्लावासीलाई शुभकामना दिन झापा आएका हुन्। हरेक वर्ष नवमीका दिन हुँदै आएको कार्यक्रमअनुसार शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको ओलीको सचिवालयले जनाएको छ।