ओलीलाई प्रधानमन्त्री पद बादरको हातमा नरिवल ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीलाई प्रधानमन्त्री पद बादरको हातमा नरिवल !



-दीर्घराज प्रसाईं

खड्ग ओलीजीले जीवनमा दुइटा ठूला गल्ती गरेका छन् । 1) २०५४ सालमा महाकाली संधि भएमा नेपाललाई १ खर्ब २० करोड बार्षिक आम्दानी हुन्छ भनेर ढाँटेका थिए । तर भयो फास्स फुसस । 2) २०७२ साल साउन, भदौंमा देशब्यापी रुपमा धर्मनिरपेक्षको बिरोध भएपछि नेपालमा धर्मनिरपेक्ष संविधानमा लेखिदैन भनेका थिए । तर भयो धर्मनिपेक्ष नैं ।

खड्ग ओलीजीलाई थाहा थियो कि कुनै हालतमा पनि गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता कायम गराउन भारतीय प्रशासनिक संयन्त्रले भारतकै जासुसहरु बाबुराम भट्टराई र कृष्ण सिटौलालाई संविधान निर्माणमा राखेको थियो । त्यसैले जवरजस्त संविधानमा धर्मनिरपेक्ष नैं राखेर धोषणा गराइयो । नेपालमा ९६ प्रतिशत हिन्दु, बौद्ध तथा ॐकार परिवारको जनसंस्या २०६८ सालको राष्ट्रिय जनगणनाले देखाएको थियो । जस अनुसार हिन्दुहरुको संख्या ८१.३ र ॐकार परिवारभित्र– बौद्ध, किरात, जैन, शिखहरु समेत ९६ प्रतिशत संख्या देखाएका थियो । जुन देशमा ९६ प्रतिशत ॐकार परिवारको जनसंस्या छ त्यसलाई विस्थापित गरेर अल्पमतमा रहेका इसाईहरुलाई खुसी पार्नधर्मनिरपेक्ष घोषणा भयो ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएपछि सुशील कोइराला, खड्ग ओली र प्रचण्डहरु भागवण्डाबाटै प्रधानमंत्री बनेका छन् । यसरी भागवण्डाको आधारमा कांग्रेस, एमाले, माओवादी सत्तामा आएता पनि उनीहरुले नेपालका आधार स्तम्भहरु भत्काउँदै देश बिगार्ने बाहेक अरु केही पनि राम्रो काम गरेका छैनन् । धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताबाट नेपाल बाँच्न सक्तैन । यी विदेशीहरुले बोकाएका बुँदा हुन् । देशका स्थापित मान्यता नबचाउने खड्ग ओलीको लागि प्रधानमंत्री पद बानरको हातमा नरिवल भनेझै भयो ।

२०६३ सालपछि नेपालको यो अधोगति कसरी र कस्को कारणले भयो भन्ने कुरा बडो गम्भीर भएर मूल्यांकन गर्नु पर्ने बेला छ । कांग्रेस र एमालेले २०६३ सालपछि विदेशीले बोकाएका बुँदाहरु धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई अझै बोकेर हिड्ने हो भनेअहिलेको कांग्रेस र एमालेको देशमा कुनै अस्तित्व रहने छैन ।नेपाललाई तहसनहस गर्नमा २०४८ सालदेखि नै नेपाली कांग्रेसका नेताहरुले ठूलो हात छ । कांग्रेसको आन्तरिक झगडाले नेपाली कांगेस वहुमतमा रहेको बेला प्रधानमंत्री गिरिजाप्रसाद कोइरालाले संसद विगटन गरेको बेलादेखि कांग्रेस, एमाले दुबै पार्टीले राष्ट्रिय राजनीतिको मूल्य र मान्यतालाई समाप्त गर्ने क्रम शुरु भयो ।

नेपाली राष्ट्रियताको ज्ञान नभएका पार्टीका नेताहरु देशको लागि ठूला अभिशाप बने । देशका जनताले विवास गरेर देशको अस्मिता बचाएर चौतर्फी राष्ट्रको विकास निर्माणमा जनतालाई परिचालीत गरेर देखाउनुपर्नेमा त्यसको बिपरित देशलाई भुङ्ग्रामा हाल्नेहरुलाई राष्ट्रघाती नभने कस्लाई भन्ने ? एउटा अपराधीले लुकेर गाउँमा पसेर घर–घरमा आगो लगाएर सम्पूर्ण गाउँका जनताको बिचल्ली बनाइदिएको जस्तो २०६३ सालपछिका कांग्रेस, एमाले र माओवादीका नेताहरुले आफ्रनो देश माथि नैं आगो लगाउने काम गरे । मलाई लाग्दछ– देशद्रोही अपराधीहरुको नाम नलिऊँ । तर, घरमा आगो लगाउने अपराधी थाहा पाएर पनि नाम नलिनु अर्को अपराध ठहर्छ । नाम नलिएर सबैलाई सरापेर बस्नुभन्दा खास अपराधीहरुको नाम सार्वजनिक गरेरै देशको सुरक्षाको लागि वहुसंख्यक जनताहरुलाई सूचीत गर्न सक्नुपर्छ । नेपाललाई डुबाउन खोज्ने राष्ट्रघातीहरुको नाम सबैले जानकारी राख्नुपर्छ ।

अहिले भारतमा कांगेस (आई) को सत्ता ढलिसकेको छ । मोदी सरकारको उदयपछि इन्दीरा गाँधीले खडा गरेको गुप्तचर संस्था ‘रअ’ को बजेट पनि मोदी सरकारले रोकिसकेको हुँदा अव ‘रअ’ बाट पालिएका नेपालका पार्टीका नेताहरुको खाइजीविका पनि सकिएको छ । यूरोपीयन राष्ट्र क्रिस्चियन मिसनबाट नेपालमा गैरसरकारी संस्थामा आइरहेको रकम पनि रोकिएकाले कथित नागरिक समाजका समाजका अगुवाहरुको समेत खाई जीविका पनि समाप्त भएकाले अव हिजोको अवस्था जस्तो आज छैन ।

अव नेपालमा सबैको प्रयासमा संवैधानिक राजसंस्था र हिन्दु तथा बौद्धअधिराज्यको निरन्तरता भएपछि कुनै स्वदेशी गद्दार र विदेशी दुस्मनहरुले नेपाललाई इसाईकरण गर्ने अनि संघीयताको नाममा नेपाल टुक्रयाउन सक्तैनन् । नेपालको राजा कुनै विदेशीको कठपुतली बनेर टिक्न चाहदैन । नेपालको राजसंस्था सम्राज्यवादी शक्तिसँग लडेर स्थापित शक्ति हो । अव सबै दलभित्रका देशभक्तहरुले सकारात्मक सोच राखेर राजाको सदासयता बुझेर नेपालमा राजसंस्थालाई एक अपरिहार्य विकल्प संस्था बुझ्न सक्नु पर्छ । अतः नेपालमा राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा समन्वय र सन्तुलन गरेर राष्ट्रका प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको सदुपयोग गरेर नेपाललाई समृद्ध बनाउने कुरामा हाम्रा सम्पूर्ण शक्ति केन्द्रित गरौं ।

उक्त लेख लेखको व्यक्तिगत विचार हो सम्पादकको कुनै भूमिका छैन।