केपी ओली प्रधानमन्त्री कि न्यायाधीश ?
काठमाडौँ -नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउँसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले भने, ‘सुशासनमा शहीद मञ्च नै छैन । बालुवाटारै अर्कैले लगिसक्यो । एनसेलले कर नतिरेर कहाँ हिँडिसक्यो । १२ अर्ब रुपैयाँ बढी तिरेर फोरजी ल्याइएको छ । वाइडबडी कहाँ छ ? वाइडबडीसँग सम्बन्धित मन्त्रीलाई प्रधानमन्त्रीले निर्दोष भनिदिनुभयो । प्रधानमन्त्रीलाई निर्दोष भन्ने अधिकार छ ? न्यायिक फैसला गर्ने अधिकार छ ? जसलाई न्यायिक फैसला गर्ने अधिकार नै छैन, उसले फलानोमा निर्दोष, बालुवाटार जग्गामा निर्दोष, वाइडबडीमा निर्दोष ।’
संविधानको मर्मविपरीत राष्ट्रपतिले सम्बोधनका क्रममा पटक–पटक मेरो सरकार भनी सम्बोधन गरेकोमा पनि उनले आपत्ति जनाए । संविधानमा गरिएको व्यवस्थाको सूची प्रस्तुत गर्दै उनले मेरो सरकार भनी गरिएको सम्बोधन संविधानविपरीत भएकाले संशोधन गर्न माग गरे । उनले भने, ‘संविधानमा नै नेपाल सरकारले गर्नेछ/गरिनेछ भनेर स्पष्ट लेखिएको छ । अब त्यहाँ मेरो सरकार भन्न मिल्यो कि मिलेन ? कुनै कविले महाकाव्य लेख्यो भने मिल्छ । कुनै कविले खण्डकाव्य लेख्यो भने मिल्छ । कुनै कविले निबन्ध लेख्यो भने मिल्छ । तर, संविधानको आधारशिलामा उभिएको प्रधानमन्त्रीले, संविधानको जगमा उभिएको व्यवस्थापिकाले, संविधानमा उभिएको राष्ट्रपतिले मेरो सरकार भन्न मिल्छ ? यो संवैधानिक रूपमा घोर आपत्तिजनक छ । संविधानमा भएको प्रबन्धलाई मानियोस् भन्ने आग्रह गर्दछु ।’