प्रधानमन्त्रीको खुलासा: जमिन फिर्ता माग्दा भारतले धम्की दियो - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

प्रधानमन्त्रीको खुलासा: जमिन फिर्ता माग्दा भारतले धम्की दियो



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपु लेकसहितको अतिक्रमित भूमि फिर्ता माग्दा भारतले बल प्रयोग गर्ने धम्की दिएको खुलासा गरेका छन्।

भुषण दाहालको कार्यक्रम द ब्राभो डेल्टा शोमा बुधबार बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले नेपाली भूमिबाट फिर्ता जान गरिएको पटक पटकको आग्रहलाई भारतले बेवास्ता गरिरहेको पनि बताएका छन्।

‘भारत हाम्रो एउटा छिमेकी हो दोस्रो मित्र छिमेकी हो, भारतसँग बहुआयामिक सम्बन्ध छ। आवेश उत्तेजना आक्रोशका हिसाबले भारतसँगको सम्बन्ध निर्धारण हुँदैन। हामीले तथ्य प्रमाणहरूका आधारमा समाधान गर्नुपर्छ’, उनले भने, ‘उनीहरुले हाम्रो भूमि समेटेर नक्सा निकालेपछि आपत्ति जनायौँ। त्यसपछि हामीले डिप्लोम्याटिक नोट पठाएका हौं वार्ताका लागि’, ओलीले भने, ‘वार्ताबाटै समाधान गर्नुछ भने धेरै बोल्नु उचित हुँदैन भन्‍ने हाम्रो कुरा हो।

नक्सा छाप्नुअघि कूटनीतिक प्रयास भएको छ, वार्ता सहज भयो भने नक्सा छाप्नुभन्दा हामीले सही र सुखद परिणाम लिन ध्यान दिनुपर्छ भनेका थियौं तर त्यसो भएन।’ सुगौली सन्धिपछि १४६ वर्ष नेपालले त्यो भूभाग भोगचलन गरेको उनले बताए। ‘भारत-चीन युद्धका बेला नेपाली भूमिमा भारतीय फौज राखेको हो। ५८ वर्षदेखि उता जान दिएन, फौजी क्याम्प राखेर भारतले रोकेको छ’, उनले भने, ‘हाम्रो वार्ता प्रस्तावलाई भारतले गम्भीरताका साथ लिएको छैन।

हाम्रोतर्फबाट नक्सा छापेर जवाफ दिने काम भएको छ। त्यसपछि गम्भीरताका साथ डिप्लोम्याटिक नोट पठायौँ तर भारतले बाटो खनेर जवाफ दियो।’ त्यसपछि फेरि पठाएको कूटनीतिक नोटपछि भारतले बल प्रयोगको भाषासहितको जवाफ दिएको उनले खुलासा गरे।

‘फेरि हामीले डिप्लोम्याटिक नोट पठाउँदा अकूटनीतिक जवाफ आयो। बल प्रयोगको भाषा आयो। अनि अरु कुनै देशले उकासेको भन्‍ने आक्षेप पनि आयो’, ओलीले भने, ‘हाम्रो भूभाग सामेल गरेर नक्सा छाप्दादेखि नै वार्ता प्रयास भएको छ, तर भारतले हामीलाई नजरअन्दाज गरिरहेको छ।

उनले अधिकांश भारतीय सञ्चारमाध्यमहरुले त्यहाँकै सभ्यतालाई नै खिल्ली उडाउने कुरा गरिरहेको ओलीले बताए। ‘सत्य तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्नुपर्छ। भारतको पछिल्लो जवाफ अकूटनीतिक भाषामा आए पनि प्रत्यक्ष सरकारले केही जवाफ दिएको छैन’, उनले भने, ‘हाम्रो तर्फबाट प्रयासहरु भइरहेका छन्। संवादबाटै त्यो भूमि हाम्रो हुन्छ। वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छ।’