ओली जस्ता ‘कायर’ ले आफ्नो रक्षाका लागि जे पनि गर्छन: गगन थापा - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

ओली जस्ता ‘कायर’ ले आफ्नो रक्षाका लागि जे पनि गर्छन: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली कायर भएको बताएका छन् । थापाले आफ्नो रक्षाका लागि ओलीले संसद विघटन गरेर कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा कांग्रेसले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रममा नेपालगञ्जमा संबोधन गरेका थापाले ‘कायर’ प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि जाल–झेल गरेको आरोप लगाए ।

नेपालको संविधान अनुसार संसदमा टाउको गनेर प्रधानमन्त्री बनेका ओलीले संविधान बमोजिम संसदको अधिवेशन नबोलाएर राष्ट्रपतिको सहारामा संसदको विघटन गर्दा संविधान, लोकतन्त्र र जनभावनामाथि एकसाथ कुठाराघात भएको आरोप लगाए ।

थापाले भने, “विगतमा संसदीय व्यवस्थामा देखिएको कमजोरीका कारण संविधानमा संसद विघटनको प्रावधान हटाइएको थियो । तर, प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर विघटन गरेका छन् ।” उनले विगत तीन वर्षमा ओलीले एकपछि अर्को अपराध र कुकर्म गरेर देश र जनतामाथि अपमान गरेको बताए ।

थापाले देश नै अनिश्चयमा फस्ने अहिलेको अवस्था ओलीबाट मात्र आएको नभई पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल पनि दोषी रहेको बताए । “ दाहाल, नेपाल र खनालले ओलीको कुशासनविरुद्ध मौनता साँध्नाको परिणामस्वरुप अहिलेको अवस्था आएको हो,” थापाले भने ।

संसद विघटन गरेर संविधान र लोकतन्त्रमाथि प्रहार भएको भन्दै ओलीको कदम नसच्चिए आगामी दिन नेपाल र नेपालीका लागि कठिन हुने उनको दाबी छ ।

“संसद विघटनको विषय अहिले अदालतमा विचाराधीन छ, म र मेरो पार्टी स्वतन्त्र न्यायालयमाथि विश्वास राख्छौं,” थापाले भने, “अदालतले विगतमा राजाको प्रत्यक्ष शासनको समयमा शाही आयोग खारेज गरेको थियो । अहिले पनि निष्पक्ष, कतैबाट प्रभावित नभई न्याय निरुपण हुनेमा विश्वस्त छौं ।”

उनले केपी शर्मा ओलीले बाध्य भए मात्र चुनाव गराउने भन्दै त्यसका लागि कांग्रेसले चनाखो भएर बस्नुपर्ने बताए ।