प्रधानमन्त्री ओलीले यसरी गर्दैछन् काम - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

प्रधानमन्त्री ओलीले यसरी गर्दैछन् काम



३ भदौमा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ।

कार्यक्रमहरूमा लामै प्रवचन दिने स्वभावका प्रधानमन्त्री ओली समृद्ध नेपालका लागि अब अलमलिने छुट कसैलाई नभएको बताउने गर्छन् । कतिपय महत्वपूर्ण विषयमा सक्रियता देखाउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन पनि दिने गर्छन् । उनका पछिल्ला केही प्रतिनिधिमूलक निर्देशन सम्बन्धि खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

सडकमा धेरै चासो
२७ असारः कलंकी–थानकोट र बौद्ध–चाबहिल–जोरपाटी सडक सुधार गर्न मन्त्री र सचिवलाई निर्देशन
१५ साउनः निर्देशनअनुसार काम भए–नभएको बुझ्न विभिन्न मन्त्रीलगायत अधिकारीको बैठक
परिणामः १२ भदौभित्र काम सक्ने गरी तीव्र गतिमा सडक सुधारको काम हुँदै छ।

२७ असारमा प्रधानमन्त्रीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सचिव मधुसुदन अधिकारीलगायतलाई बोलाएर कलंकी–थानकोट र बौद्ध–चाबहिल–जोरपाटी सडक सुधार गर्न तथा उपत्यकाभित्रका सडकका खाल्टाखुल्टी यथाशीघ्र पुर्न निर्देशन दिए । मन्त्री महासेठले ५० दिनभित्र ती सबै काम गर्ने प्रतिबद्धता जनाए ।

१५ साउनमा निर्देशनअनुसार काम भए–नभएको बुझ्न फेरि प्रधानमन्त्रीले विभिन्न मन्त्रीलगायत अधिकारीको बैठक बोलाए ।

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनका कारण पनि सरकार सडक मर्मत तत्कालै सक्नैपर्ने दबाबमा छ।

यसैगरी जोरपाटी–साँखु सडक पनि कात्तिकभित्र पिच गरिसक्ने मन्त्री महासेठले बताए । प्रधानमन्त्रीको निर्देशनअनुसार विद्युत् प्राधिकरणले सडकका अधिकांश अवरोधक पोल हटाएर नयाँ गाडिसकेको मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए।

काठमाडौंका मेयरसँग प्रधानमन्त्री असन्तुष्ट
परिणाममुखी काम देखाउन नसकेकोमा मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट छन् । आफ्नो जिम्मेवारीमा पर्ने भित्री र कोरिडोर सडक, ढल र बत्ती व्यवस्थापनमा शाक्य चुकेको ओलीको बुझाइ छ।

‘प्रधानमन्त्रीज्यूले पटक–पटक निर्देशन दिनुभएको छ, तर उनी भेट्न आउँदा रातारात हुने कुरा भएन, लागिरहेको छु, परिणाम देखाउँछु भन्दै ठाडो जवाफ मात्र फर्काउँछन्,’ प्रधानमन्त्रीका एक सचिवालय सदस्यले भने, ‘उनकै कार्यशैलीका कारण सरकारले धेरै आलोचना खेप्नुपरेको छ । उनी गम्भीरतापूर्वक जिम्मेवारीबोध गर्ने व्यक्ति रहेनछन् भन्ने प्रधानमन्त्रीज्यूले नै अनुभूति गरिरहनुभएको छ।’

बजार अनुगमन तीव्र, २ सयमाथि कारबाही
जनताले राहतको अनुभूत गर्ने गरी बजार अनुगमन तीव्र बनाउन प्रधानमन्त्रीले उद्योग तथा वाणिज्यमन्त्री मातृका यादव र सचिवलाई असारको अन्तिम साता निर्देशन दिएका थिए । ११ साउनयता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्दा करिब दुई सय कारवाहीमा परेका छन्।

२ वाइडबडी जहाजको अन्तर्राष्ट्रिय उडान
फ्रान्सबाट खरिद गरिएका नेपाल वायुसेवा निगमका दुईवटा २ सय ७८ सिटका वाइड बडी जहाज समयअगावै उडान भएका छन्।

आवेदन दिएको एक महिनाभित्र नेपाल नागरिक उडड्यन प्राधिकरण र सम्बन्धित मुलुकको नियमक संस्था प्राधिकरणले अनुमतिपत्र दिएपछि मात्र सामान्यतया जहाजले उडान भर्ने गर्छ।

तर, एक दिनको ढिलाइले पनि मुलुकलाई ठूलो घाटा हुने भन्दै प्रधानमन्त्री ओलीले तत्काल उडानको व्यवस्था मिलाउन पयर्टनमन्त्री रवीन्द्र अधिकारी र सचिव कृष्ण देवकोटालाई निर्देशन दिएका थिए। दुवै जहाजले एक महिना नपुग्दै अन्तर्राष्ट्रिय उडान सुरु गरे।

भारतसँगको सहमति कार्यान्वयनको नियमित रिपोर्टिङ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको समझदारीअनुसार आगामी ३ असोजभित्र अधिकांश सहमति र सम्झौता कार्यान्वयन गर्ने गरी दुई देशका परराष्ट्रसचिवबीच महिनामा दुईपटक औपचारिक वार्ता भइरहेको छ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार नेपालका परराष्ट्रसचिवबाट भारतीय सचिवसँग भएको वार्ता र कार्यान्वयनको प्रगति डिकोडिङ गरेर नियमित रिर्पोटिङ हुने गरेको छ।

‘भारतीय प्रधानमन्त्रीज्यूलाई पनि त्यसैगरी उहाँको सचिवले रिपोर्टिङ गर्नुहुन्छ, प्रगतिप्रति दुवै पक्षले एक–अर्कोलाई धन्यवाद दिने गर्नुहुन्छ,’ रिमालले भने।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँगको सहमति कार्यान्वयनबारे नेपालको परराष्ट्र मन्त्रालयलाई दिएको निर्देशन र कूटनीतिक च्यानलमार्फत व्यक्त गरेको चासोपछि विराटगरस्थित भारतीय दूतावासको फिल्ड अफिस ९क्याम्प० बन्द भएको छ।

खाडी राष्ट्रमा ठगी नियन्त्रण हुँदै
प्रधानमन्त्रीको निर्देशनअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसियामा बढी सेवाशुल्क लिएर पठाउँदै आएका कम्पनीमाथि कारबाही अघि बढाए।

अब कुनै पनि वैदेशिक रोजगार कम्पनीले सीधै मागपत्र ल्याएर ठगी गर्न नपाउने गरी कार्यविधि लागू भएको छ । यसबाट बढी ज्याला देखाई विदेश पठाएर कामदार शोषण गर्ने प्रवृत्तिको समूल अन्त्य भएको छ।

प्रधानमन्त्री कार्यालयमा अटोमेसन, मन्त्रिपरिषद् पेपरलेस
प्रधानमन्त्री भएलगत्तै ओलीले प्रत्येक मन्त्रीलाई ल्यापटप दिने र प्रधानमन्त्री कार्यालयमा अटोमेसन सिस्टम लागू गरेर मन्त्रिपरिषद् बैठकलाई पेपरलेस बनाउने भन्दै निर्देशन दिएका थिए ।

१ साउनबाट यो कार्यान्वयन भएको छ । ‘नयाँ आर्थिक वर्षबाट बैठकका एजेन्डा र निर्णय सीधै अनलाइनमा जान्छ । हरेक मन्त्रीले सेक्युरिटी कोड लगइन गरेर प्रस्ताव र निर्णय हेर्ने गर्नुहुन्छ,’ मुख्य सल्लाहकार रिमालले भने, ‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार मन्त्रिपरिषद् पेपरलेस भएको छ।’

प्रधानमन्त्रीले समयभित्रै परिणाम खोज्नुहुन्छ
कुन्दन अर्याल
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
महत्वपूर्ण विषयमा निर्देशन दिएपछि प्रधानमन्त्रीले कार्यान्वयन भएको छ कि छैन भनेर नियमित चासो राख्नुहुन्छ । सम्बन्धित मन्त्री र निकायबाट रिपोर्टिङ लिने गर्नुहुन्छ।

उहाँले बारम्बार सबैले समयको सदुपयोग गरौँ, निर्धारित समयमै परिणाममुखी काम गरेर समृद्ध नेपाल निर्माणमा योगदान गरौँ भन्ने आग्रह गर्दै आउनुभएको छ । सबै कामको समयभित्रै परिणाम खोज्नुहुन्छ । ‘साइलेन्ट्ली’ अनुगमन गरिरहेकै हुन्छ।