अब म आवश्यक निर्णय लिन्छु : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अब म आवश्यक निर्णय लिन्छु : प्रधानमन्त्री ओली



काठमाडौं – प्रधानमन्त्री केपी ओलीमाथि गुठी विधेयक फिर्ता लिन दबाब बढेको छ। उपत्यकाका तीनै जिल्लाका नेकपाका जनप्रतिनिधि र जिल्ला नेताहरूले विधेयक फिर्ता लिन प्रधानमन्त्रीलाई दबाब दिएका हुन्। उनीहरूसँगको छलफलपछि प्रधानमन्त्रीले क्याबिनेटबाट आवश्यक निर्णय लिने प्रतिबद्धता जनाएका छन्।

छलफलमा सहभागी काठमाडौं–७ का सांसद रामवीर मानन्धरले सबैले विधेयक फिर्ता लिन दबाब दिएका कारण क्याबिनेटले फिर्ता लिने संकेत पाएको बताए। ‘तपाइहरूका कुरा सुनें। यस विषयमा मन्त्रिपरिषद् बैठक बसेर निष्कर्ष निकालौंला,’ ओलीलाई उद्धृत गर्दै मानन्धरले भने, ‘प्रधानमन्त्रीले विधेयकबारे चासो राख्नुभएको छ। सम्भवतः सरकारले विधेयक फिर्ता लिन्छ।’

‘उपत्यका सांसद, मेयर, वडा अध्यक्षसम्मका जनप्रतिनिधि र पार्टीका जिल्लाका नेताहरू सबैलाई प्रधानमन्त्रीले बोलाउनुभएको थियो। गुठी विधेयकमा सुझाव राख्न भन्नुभयो। हामीले सुझाव राख्यौं। उहाँले प्राप्त सुझावका आधारमा क्याबिनेटबाट निर्णय लिन्छु भन्नुभयो’, काठमाडौं– ८ का सांसद जीवनराम श्रेष्ठले भने।

प्रधानमन्त्री ओलीले विषयको संवेदनशीलता नै नबुझी पार्टी नेता–कार्यकर्ताले असन्तुष्टि जनाउनु ठिक नभएको बताएका थिए।

‘आधारभूत रूपमा विधेयक सही छन् तर त्यसलाई अलिक स्पष्ट पार्न नसकिएको हो। सबै गुठीलाई एकै नगरी फरक ढंगले परिमार्जन गरेर सम्बोधन गर्न सकिन्छ। यसका लागि केही समय लाग्छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सचिव हिमाल शर्माले  भने, ‘अब म आवश्यक निर्णय लिन्छु।’ अन्नपुर्णपोस्टमा खबर छ