कार्यक्रममै यसरी झुट बोले प्रधानमन्त्री ओलीले ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कार्यक्रममै यसरी झुट बोले प्रधानमन्त्री ओलीले !



काठमाडौं– २०७३ फागुनमा सप्तरीको मलेठमा भएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन्। शनिबार प्रदेश २ को संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरी घटनाबारे केही बेर बोलेका थिए।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा सकेर राजमार्ग पुगेपछि गोली चलेको बताएका छन्। तत्कालीन नेकपा एमालेको मेची-महाकाली चुनावी अभियानका क्रममा फागुन २३ गते सप्तरीको मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीहरुमाथि प्रहरीले चलाएको गोलीबाट ५ जनाको ज्यान गएको थियो।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘म त जनतालाई आफ्नो कुरा भन्न गएँ त्यहाँ। केही कुराहरु भनेँ। र, म फर्किएँ। हामी हाइवे पुगेपछि गोली चल्यो। सभा सिद्धिएपछि गोली किन चल्यो? कसले चलायो र किन चलायो?’

उनले सम्बोधनमा थपे, ‘आमसभा सकिएर राजमार्गमा पुगेपछि मैले सुनेँ– गोली चल्यो। हामी कति किलोमिटर माथि पुगिसकेपछि गोली चल्यो। गोलीकाण्डको रचना कसले गर्‍यो, किन गर्‍यो? न म सरकारमा, न मेरो नेतृत्वमा सरकार हो, न म बन्दुक लिएर गएको हो, न मैले गोली चलाएको हो। केही पनि होइन।’

आयोगले भनेको थियो– ओलीले बोल्दै गर्दा गोली चल्यो
ओलीले आफू सभाबाट राजमार्ग पुगेपछि गोली चलेको बताए पनि मानवअधिकार आयोगको प्रतिवेदनमा भने ओलीले सम्बोधन गरिरहँदा नै गोली चलेको बताएको छ। प्रतिवेदनमा भनिएको छ– ‘केपी शर्मा ओलीले बोल्दै गर्दा मोर्चाका कार्यकर्ताहरु अत्यधिक आक्रोशित भई पर्खाल नाघी कार्यक्रम स्थलमै प्रवेश गर्न खोज्दा त्यहाँ तैनाथ सशस्त्र प्रहरीले गोली चलायो। प्रहरीले चलाएको गोली लागि ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भयो। कैयौं व्यक्तिहरु घाइते भए।’

राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारी संयोजक रहेको उच्च स्तरीय छानबिन समिति बनाएको थियो। आयोगले २०७३ चैत ३१ मा मलेठ घटनाका सम्बन्धमा अनुसन्धान गर्न समिति गठन गरी छानबिन गर्ने निर्णय गरेको थियो। समितिले २०७४ जेठ ८ देखि २०७४ जेठ १३ सम्म स्थलगत छानबिन र जेठ २९ गते सम्म काठमाण्डौंमा नै बसी छानबिन सम्बन्धी अन्य कार्य एवम् प्रतिवेदन तयार गरेको थियो।

‘फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरीत औद्योगिक क्षेत्रमा सभा गर्ने एमाले, त्यसलाई जुन मूल्य चुकाएर भए पनि हुन नदिने वा बिथोल्न कटिबद्ध भई त्यहाँ जाइलाग्ने प्रदर्शनकारीहरुको अगुवाइ गर्ने सप्तरी जिल्लाको मधेसी मोर्चा नै मुख्य दोषी रहेको भन्ने यस समितिको निष्कर्ष रहेको छ,’ असार ३२ मा सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ।

नेपाल लाइभको रिपोर्ट