प्रधानमन्त्री ओलीलाई अर्को झट्का - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

प्रधानमन्त्री ओलीलाई अर्को झट्का



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी बाहिर पनि झट्का लागेको छ । सत्तारुढ नेकपाभित्रकै आन्तरिक विवादको कारण निरन्तर साथ दिंदै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि साथ् छाडेपछि झनै संकट थपिएको छ ।

आफ्ना विपक्षी तर्साउन प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा देउवा नआए भएपछि बैठक नै स्थगित गर्नुपर्ने अवस्था आएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान नौ बजे बालुवाटारस्थित सरकारी निवासमा परिषदको बैठक बोलाएका थिए तर प्रमुख प्रतिपक्षी दलका नेतामात्र नभई सभामुख अग्निप्रसाद सापकोटा समेत बैठकमा अनुपस्थित भएपछि तनावको स्थिति बनेको थियो ।

बैठकका लागि तोकिएको समयमा प्रधान न्यायाशीध चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्रै उपस्थित भएका थिए।

सभामुख सापकोटा र प्रमुख विपक्षी दलका नेता देउवा बैठकमा दुवैजना सदस्य अनुपस्थित रहेपछि बैठक स्थगित भएको थियो । देउवा र सापकोटा अनुपस्थित भएपछि उपस्थित सदस्यहरुको बैठक केहिबेर बसेर स्थगित भएको थियो।

बालुवाटार स्रोतका अनुसार बैठकमा गणपुरक संख्या नपुगेरै स्थगित भएको हो। पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच आन्तरिक संघर्ष चर्किरहेको बेला त्यसको प्रभाव संवैधानिक परिषद् बैठकमा पनि परेको हो।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ।

प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत बिभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका पदहरुमा नियुक्तिका लागि सिफारिश गर्न परिषद्को बैठक बोलाएका थिए।

आफ्ना विरुद्धमा रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधव नेपाललाई तर्साउने र पेल्ने रणनीति अनुसार संवैधानिक आयोगहरूमा आफ्नै तरिकाले नियुक्तिको तयारी गरेका थिए ।

बैठकमा गणपुरक संख्या नै नपुगेर स्थगित गर्नुपरेपछि प्रधानमन्त्री ओली झनै दवावमा परेका छन् ।