नारायणहिटी अगाडि विशाल जनसभा गर्दै ओली समूह: भब्य तयारी हुँदै
काठमाडौं- नेकपा केपी ओली समुहबाट शुक्रबार नारायणहिटी अगाडि विशाल जनसभाको तयारी गरिँदै छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ् विशाल जनसभा गर्न लागिएको हो ।
उक्त विशाल जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने बताइएको छ ।
सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताइएको छ । कार्यक्रममा करिब १ लाख नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।
मध्याह्न १२ बजेदेखि हुने सभा अघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् ।
पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको बताइएको छ ।
सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको थियो ।
सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ । प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा मोटरसाइकल र्याली समेत गरेको थियो ।
नेकपाकै प्रचण्ड नेपाल समूहले उनको असंवैधानिक कदमको विरोधमा आन्दोलन गर्दै आएको छ ।
सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।