प्रधानमन्त्री ओलीले दुवै पद तत्काल छोड्नुपर्छ: जनार्दन शर्मा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रधानमन्त्री ओलीले दुवै पद तत्काल छोड्नुपर्छ: जनार्दन शर्मा



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलीनै दुवै पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।

शर्माले साँच्चै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो भने ओलीले भोलि बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिन सक्नुपर्ने हिम्मत राख्नुपर्ने बताएका हुन् ।

कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रमलाई दिएको अन्तरवार्तामा शर्माले प्रधानमन्त्री ओलीले आफूले सचिवालयमा पेश गरेको दस्तावेजअनुसार नेतृत्व हस्तान्तरण गर्ने हिम्मत गर्ने हो भने तत्काल राजिनामा गर्नुपर्ने बताए । ओलीले आफुले राजीनामा दिएर अर्को व्यक्ति जो हो त्यसलाई अगाडि ल्याउनुपर्ने बताएका हुन् ।

नेतृत्व हस्तान्तरणको सम्भावना कति छ भन्ने प्रश्नमा नेता शर्माले भने, ‘म यति कुरा भन्न चाहान्छु कि सम्माननीय प्रधानमन्त्री ज्युले भोलिकै बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएर अर्को पात्रलाई को व्यक्ति हो त्यो अगाडि ल्याउनुहुनेछ ।’

उनले प्रधानमन्त्री ओलीले अघि सारेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्वागत गर्दै त्यसो गरे आफुहरुको पूर्ण समर्थन रहने पनि बताए । ‘त्यसलाई हामी समर्थन गर्नेछौ । सिङ्गो स्थायी कमिटीले समर्थन गर्नेछ । त्यसो गर्दिने वित्तिक्कै अध्यक्ष प्रचण्डले त्यो कुरालाई समर्थन गर्नुहुनेछ । अनिमात्रै पार्टी नयाँ पुस्तामा जानेछ’ शर्माको भनाइ छ ।

नेता शर्माले जिम्मेवारीको हैसियतले पार्टी र सरकार सञ्चालनमा भएका कमी कमजोरीको दायित्व पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै बढी लिनुपर्ने बताएका छन् । जनताको दैनिक जीवनलाई प्रभाव पार्ने कुराहरुको सम्बोधन गर्न सरकार असफल भएको र त्यो कुरा पार्टीले उठाउँदा प्रधानमन्त्रीले बेवास्ता गरेकाले समस्या देखिएको शर्माको भनाई छ ।