सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने



काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदन चल्न नदिएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई पनि बैठकमा उपस्थित हुन सभामुख सापकोटाले पत्र पठाएका छन् ।

तर एमाले अध्यक्ष ओलीले सर्वदलीय बैठक बहिस्कार गर्ने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले स्रोतले जनाएको छ ।

सभामुखले यसअघि बोलाएको सर्वदलीय बैठककरूमा पनि ओली उपस्थित भएका थिएनन् । यसपटक पनि सभामुख सापकोटाले एमाले संसदीय दलको नेता ओलीलाई औपचारिक रूपमै पत्र पठाएर आमन्त्रण गरेका थिए ।

एमाले अध्यक्ष ओली र सभामुख सापकोटाबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेको छ । पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच टकराव नै परेको थियो । त्यतिमात्र होइन सत्तामा हुँदा सहयोग नगरेको भन्दै ओलीले सार्वजनिक रूपमै भन्दै आएका थिए ।

आफू प्रधानमन्त्री हुँदा एमसीसी लगायतका परियोजना संसद्को कार्यसूचीमा नराखेको भन्दै ओली रुष्ट छन् ।

आजको सर्वदलीय बैठकमा संसदीय दलका नेता ओली उपस्थित नहुने सचिवालय स्रोतले बताएको छ । स्रोतका अनुसार आजको बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाउने बारे छलफल भैरहेको बताइएको छ ।

एमालेका १४ नेतामाथि कारबाही नगरेको र भेदभाव गरेको भन्दै सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ ।