प्रधानमन्त्री ओलीसँग पोखरेल एक्लै - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

प्रधानमन्त्री ओलीसँग पोखरेल एक्लै



काठमाडौं- सत्तारुढ नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओली एकलकाटे बन्दै गएका छन् । उनका आफ्नै गुटका भनिएका नेताहरू कोहि तठस्थ बस्ने र कोहिले ओलीइतरको समुहलाई साथ् दिन थालेपछि बालुवाटारमै सन्नाटा छाउन थालेको छ ।

पार्टी अध्यक्ष समेत रहेका ओलीले पछिल्लो भेटमा प्रचण्डलाई कुनै हालतमा बहुमतको निर्णय नमान्ने चेतावनी दिँदा प्रचण्डले मुस्कुराउँदै जवाफ फर्काएका थिए ‘तपाईं बाहेक को छ र तपाईंको टिममा’ ? प्रचण्डको यस्तो बचन सुनेपछि ओली झस्किएका थिए ।

प्रचण्डको दस्तावेजमाथि छलफल नै नगर्ने अडानमा रहेका ओलीले प्रचण्डलाई तारन्तार फोन गरेर बोलाएर फकौनुको पछाडी सचिवालय आफू कमजोर हुँदै जानु रहेको खुमलटारको बुझाई छ ।

बुधबार त ओलीले प्रचण्डलाई माधव नेपालको साथ छाडेर आफ्नो पक्षमा आउन आह्वान गरे । ‘ओलीजीलाई नयाँ नयाँ प्रस्ताव राख्न कुनै अप्ठेरो लाग्दो रहेनछ,’ प्रचण्डनिकट एक नेताले व्यङ्ग्य गर्दै भने, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने कुरालाई उहाँले राम्ररी पछ्याउनु भाछ । यसरी हेर्दा उहाँ गज्जबको जबजवादी नेता हुनुहुन्छ ।’

माधव नेपाललाई प्रचण्डको साथ छाड्न बारम्बार आह्वान गर्दै विभिन्न प्रलोभनको पोको पस्किरहेका ओलीले अन्तिम समयमा प्रचण्डलाई माधवको साथ छाड्न भनेका हुन् । तर भेटमा प्रचण्डले ओलीलाई नै सम्झाएर सच्चिन आग्रह गरेको खुमलटार स्रोतले बताएको छ ।

सचिवालयमा वामदेव गौतम पछिल्लो समय आफ्नो छवि सुधार्दै छन् । अडान नभएको नेताबाट चट्टानी अडान लिने पक्षमा गौतम देखिएका छन् । उनले आफूलाई फकाउन आएका ओली समूहका नेताहरुलाई पनि ओलीको साथ छाडेर बहुमतको पक्षमा आउन आग्रह गर्न थालेका छन् ।

वामदेवको पछिल्लो समयको यो चट्टानी अडानको सामू बालुवाटारका हरेक प्रस्तावहरु पानीको फोका बनिरहेका छन् । वामदेवको यो अडानका पछाडि उनको समूहका नेताहरुको खबरदारीले पनि काम गरिरहेको छ । किरण गुरुङदेखि बलराम बाँस्कोटा हुँदै हरि पराजुलीसम्मले गौतमलाई खबरदारी गरिरहेका छन् ।

यसरी हेर्दै जाँदा महासचिव विष्णु पौडेलले पनि बहुमत नै रोज्ने संकेत देखाएका छन् भने रामबहादुर थापा बादलले पनि माओवादी विरासत नत्याग्ने प्रतिवद्धता गरिसकेको खुमलटार स्रोतको दावी छ ।

उनले आफ्नो समूहका नेताहरुलाई नेकपाको विभाजन आफूले टारीरहेको दावी गर्दै आइरहेका छन् । नियमित भैंसेपाटी गइरहेका नेकपाका एक नेताले भने, ‘उहाँले आफूले नधान्ने हो भने पार्टी फुट्छ भन्नुहुन्छ । उहाँलाई माले फुटाउँदाको पीडा अहिले पनि छ ।’

यसरी, सबै नेताहरुले साथ छाडेपछि सचिवालयमा अन्तिममा ईश्वर पोखरेल मात्रै ओलीको पक्षमा देखिनसक्ने सम्भावना बाक्लो भएको माधव नेपाल समूहका एक नेताले बताए । ‘ईश्वरजी पनि सबै पँधेराको पानी खाएका नेता हुन् । यसअघिका अभिव्यक्तिले बहुमत पक्षमा लाग्न उहाँलाई अप्ठेरो लागेको हुनसक्छ । तर पछिल्लो समयमा उहाँमा पनि ओली पक्षीय क्रान्तिकारिता बाँकी छैन ।’