यसकारण ओलीसँग भारत रिसायो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यसकारण ओलीसँग भारत रिसायो



पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकमात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार बाहिर आएको छ । एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको थियो ।

विमस्टेकका सदस्य राष्ट्रहरुको सेना अधिकारीहरुको सहभागी रहने अभ्यास सोमबारबाट पुणेमा शुरु भयो ।

भारतीय अंग्रेजी पत्रिका ‘द हिन्दुस्तान टाइम्स’ले यो विषयका जानकार एक व्यक्तिको हवाला दिँदै नयाँ दिल्लीले काठमाण्डुको निर्णय अनुपयुक्त भएको ठानेको र रद्द गर्न भनिएको ‘आन्तरिक राजनीतिको दबाब’ ‘चित्त बुझ्दो’ नभएको मानेको लेखेको छ । साथै, ती जानकारलाई उद्धृत गर्दै नेपालले शुक्रबार सैन्य अभ्यासमा सहभागी नहुने भनेर दिएको जानकारीले भारत र क्षेत्रीय समूहलाई ‘लाजमर्दो अवस्था’ मा पु¥याएको बताएको पत्रिकाले लेखेको छ ।

तथापि हालसम्म आधिकारिक रुपमा न भारतको विदेश मन्त्रालय न त रक्षा मन्त्रालयले नै नेपालले सैन्य अभ्यासमा पूर्ण सहभागिता नहुने कुरामा टिप्पणी गरेको छन् ।

पत्रिकाले नाम उल्लेख गर्न नचाहने एक भारतीय सरकारी अधिकारीले सहभागिता पूर्णत सहभागी देशको सुविधाको आधारमा हुने बताएको जनाएको छ ।

गत शुक्रबार नेपालका प्रधानमन्त्री केपी ओलीले भारतीय राजदुत मन्जीभ सिंह पुरीलाई बोलाएर नेपाल सैन्य अभ्यासमा सहभागि हुन असमर्थ रहेको बताएका थिए ।

अघिल्लो हप्ता काठमाण्डुमा आयोजना भएको विमस्टेक सम्मेलनको समापनको क्रममा सैन्य अभ्यासमा सहभागि हुन नेपाल सहमत भएको खबर आए लगतै नेपालको मिडिया तथा राजनीतिक वृतमा यसको व्यापक आलोचना भएको थियो ।

पत्रिकासँग कुरा गर्ने व्यक्तिले सम्मेलनका क्रममा मोदीले सार्वजनिक रुपमै घोषणा गरेको सैन्य अभ्यासको कार्यक्रममा सहमति जनाएको नेपाल अचानक बाहिरिँदा भारतलाई लाजमर्दो अवस्थामा पुर्याएको बताएका छन् । नेपालमा दुई तिहाईको बलियो सरकार भएको बेला आन्तरिक राजनीतिक दबाबका कारण मात्र सरकार पछि हट्नु परेको कुरामा भारतले विश्वास गर्न नसकेको बताएको छ ।

नाम उल्लेख गर्न नचाहने नेपालका लागि एक पूर्व भारतीय राजदुतले भनेका छन्, ‘यसले कुनै क्षति निम्त्याउने छैन । तर कुटनीतिमा विश्वासको कमी विस्तारै निर्माण हुन्छ । केही दिनभित्र भएका घटनाहरुलाई मात्रै हेर्नुस् त । एकातर्फ नेपालले चीनसँग थप प्रोटोकलमा हस्ताक्षर गरेर चीनको बन्दरगाहहरुसम्म पहुँच पायो । अर्को तर्फ भारतमै हुन लागेको सैन्य अभ्यासमा सहभागी हुन अस्वीकार ग¥यो । यो राम्रो संकेत होइन ।’