के प्रधानमन्त्री ओलीको ‘इन्धन’ सकिएकै हो ?
काठमाडौं – ‘कसैकसैले यो सरकार कर्कलाको पानी हो कि जस्तो गर्छन्, डाँठ समातेर हल्लाइदियो त्यो पानी पातबाट झर्छ, तर सरकार त्यति कमजोर छैन,’ आइतवार काठमाडौंमा पत्रकार शुभशंकर कंडेलको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी भएको कार्यक्रममा ओलीले जादूगरले जस्तो जनतालाई अल्मल्याउने काम आफूहरूबाट नहुने भन्दै भनेका थिए—‘हामी जादूगर होइनौं अलमल्याउन र भ्रममा पार्न, कहिले अण्डा कहिले चरा निकाल्ने खालको ।’
सरकार कर्कलाको पानी होइन भनेर भनेको भोलिपल्टै प्रधानमन्त्री ओलीले सरकार गलेको आभाष दिए, मधेस केन्द्रित राजपाका नेताहरूसँग । ओलीले आफूलाई कसैले नटेरेको र सोचेअनुसारको काम गर्न नसकेको मधेसकेन्द्रित नेताहरूलाई बताएका थिए ।
‘अदालत, प्रशासन, सुरक्षाकर्मी कसैले पनि सरकारलाई टेरेनन्, परिस्थितिले मलाई साथ दिएन,’ ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
सरकारसँग केही माग राखेर ज्ञापनपत्र बुझाउन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरू सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
शुरूमा केहीबेर अनौपचारिक कुराकानीपछि ठाकुरले राजपाको तर्फबाट ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझ्दै ओलीले अत्यन्त निराशाजनक कुरा गरेका थिए । ओलीसँगको भेटमा सहभागी एक नेताका अनुसार ओली विगतमाभन्दा निकै नरम भाषामा प्रस्तुत भएका थिए ।
‘केही काम गर्न खोजेको हो, कसैले टेर्दैन,’ ओलीले पटक–पटक दोहोर्याएका थिए । सरकार गठन भएको ८ महिना पुग्नै लाग्दा प्रधानमन्त्रीबाट निराशाजनक अभिव्यक्ति सुन्दा अचम्म लागेको मधेश केन्द्रित नेताहरूले बताएका थिए ।
राजपा नेताहरूले छटसम्म आफूहरूले उठाएका माग सम्बोधन नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएका थिए । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा नगर्नुस्, तपाईंहरूका मागबारे केही दिनमै छलफल गर्न बोलाउँछु,’ ओलीले भनेका थिए ।
मधेसकेन्द्रित दलका नेताहरूसँगको भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि बालुवाटारमै थिए । राजपाका नेताहरूले दाबी गरेजस्तो प्रधानमन्त्री ओलीले निराशा व्यक्त नगरेको नेम्वाङले बताए ।