जसपा पनि ओलीलाई हटाउने लाइनमा
काठमाडौं- जनता समाजवादी पार्टीले माओवादी केन्द्रसँग मिलेर सरकार निर्माण गर्नुपर्ने प्रस्ताव नेपाली कांग्रेससँग राखेको छ ।
शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस नेताहरुसँगको छलफलमा जसपाका नेताहरुले माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार निर्माण गर्नुपर्ने बताएका हुन् ।
‘संसद पुर्नस्थापनापछि देशको राष्ट्रिय राजनीतिमा हिँड्ने बाटोको सन्र्दभमा कांग्रेसले अग्रसरता लिनुपर्छ, जसपाका नेताहरुले भने, ‘कांग्रेस, माओवादी र जसपा एक ठाउँमा उभिनुपर्छ ।’
त्यस्तै आजै बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।
पदाधिकारी सदस्यहरुले पनि केपी ओली नेतृत्वको सरकारलाई विकल्पको रुपमा लिनुपर्ने बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले खुला रुपमा संवाद गरेर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।
प्रवक्ता शर्माले भने, ‘खुला र राष्ट्रिय रुपमा साझा धारणा निर्माण हुनुपर्ने सन्दर्भमा मत–अभिमत सबैबाट प्रकट भएको छ । अहिले यो कुरामा हामी टुंगोमा पुगिसकेका छौं भन्ने बेला भएको छैन ।’
छलफलबाट बाहिँरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसका नेताहरुले सबै मिलेर जाऔं भनेको र माओवादी केन्द्रसँग पनि छलफल गर्ने जानकारी दिए ।
जसपासँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र जसपाबाट अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो लगायत थिए ।