ओलीको महँगीको गोली र आन्दोलनमा दमन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीको महँगीको गोली र आन्दोलनमा दमन



काठमाडौं । सरकारका पछिल्ला क्रियाकलाप बिरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ काठमाडौंको माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गर्दै आएको छ । कांग्रेसका युवा नेता प्रदीप पौडेलको अगुवाइबाट सुरु भएको नेविसंघको प्रदर्शन पछिल्लो दुई सातादेखि जारी छ ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसीले जुम्लामा सुरु गरेको अनशन र गोरखा फुजेलकी गंगामाया अधिकारीको आमरण अनशनमा ऐक्यवद्धतादेखि निषेधाज्ञादेखि महँङ्गीलगायतका विषयमा सडक हुँदै सदनसम्म प्रतिपक्षी कांग्रेसले विरोध गर्दै आएको छ ।

सडकमा हुने कांग्रेसको विरोधमा नाराहरु केपी ओली नेतृत्वको सरकारप्रति निकै आक्रामक देखिन्छन् । केही शिष्ट र केही अशिष्ट नाराहरुका बीचमा केही नारा भने गीतका हरफहरु जस्तै लाग्छन् । नेविसंघको आन्दोलनमा मार्सी धानको चामलदेखि असारे विकास हुँदै महँगी विरुद्धका नारा गुञ्जिएका देखिन्छन् ।

मंगलबारको प्रदर्शनमा नेविसंघका नेता–कार्यकर्ताहरुले पटक–पटक एउटै नारा दोहोर्याए– ‘किन हान्छौ ओली, महँगीको गोली’ । ‘कम्युनिष्ट सर्वसत्तावाद विरुद्धमा नेविसंघको वृहत प्रदर्शन’ देखिएको ब्यानरमा गरिएको नेविसंघको प्रदर्शनमा उपस्थित अधिकांश नेता–कार्यकर्ताहरुले ‘किन हान्छौ ओली, महँगीको गोली’ लेखिएका कागजका टोपीहरु लगाएका थिए ।
अध्यक्ष नैनसिंह महरको नेतृत्वमा मध्यान्ह साढे १२ वजेबाट सुुरु भएको नेविसंघको सरकारविरोधी प्रदर्शन माइतीघर मण्डलामा मात्रै एक घण्टासम्म चलेको थियो । विद्यार्थीहरुको बाक्लो उपस्थितिका बीच सरकारविरोधी नाराबाजीसहित चलेको प्रदर्शन नयाँ बानेश्वर तर्फ गएको थियो ।

प्रदर्शनस्थल माइतीघर मण्डलामा नयाँ शक्ति पार्टीको जुलुस पुगेपछि नेविसंघ माइतीघर मण्डलाको परिक्रमा गर्दै नाराबाजीसहित नयाँ बानेश्वरतर्फ गएको हो । सरकारकै विरोधमा नयाँ शक्ति पार्टीपनि माइतीघर मण्डला पुगेपछि दुवै पक्षका नेता–कार्यकर्ताहरु झनै आक्रामक जस्तै देखिन्थे ।

नयाँ शक्तिले मंगलबार नै शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको ब्यापारिकरण, महंगी, भ्रष्टाचार र कुशासन तथा अभिव्यक्ति र प्रदर्शन गर्न पाइने लोकतान्त्रिक अधिकार हनन्का विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । नयाँ शक्तिको प्रदर्शनको नेतृत्व महिला नेतृ हिसिला यमीले गरेकी थिइन् ।
मंगलबार नै अवासिय चिकित्सकहरुको संगठन रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन) ले पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ । प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन शुरु गर्दा आरएएनले पनि सरकार विरुद्ध प्रदर्शन गरेको हो ।

उनीहरुले ‘दुई तिहाई पायो भन्दैमा जनता मार्न पाइँदैन’, ‘मार्सी धानको भातसँग ऐन मास्न पाइँदैन’, तिम्रो मार्सी भोजनले समाजवाद आउँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोक्नेका थिए ।

यसैबीच माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ प्रदर्शन गर्दै हिँडेका नेविसंघका नेता–कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीले माइतीघर र बबर महलकोबीचमा दुई पटक नेविसंघका नेता–कार्यकर्ताहरुमाथि लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठी चार्जबाट ११ जना नेता–कार्यकर्ताहरु घाइते भएका छन् । नेविसंघका प्रवक्ता प्रेम जोशीका अनुसार उपाध्यक्षद्वय पुष्पकुमार शाही र निलकण्ठ रिजाल, महामन्त्री आनन्दराज त्रिपाठी, केन्द्रीय सदस्य सुवाश कठायत, सिटिईभिटी अध्यक्ष बिष्णु महतरा, उपाध्यक्ष मनिष ऐर, त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेताहरु सुदर्शन पनेरु, केशर बम, यशमान विष्टलगायतका रहेका छन् ।