ओलीले भने: गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट थिए - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

ओलीले भने: गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट थिए



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट भएको बताएका छन्।

१९औँ मनमोहन स्मृति दिवसको अवसरमा प्रतिष्ठानले ललितपुरको सानेपामा गरेको स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला विक्रम सम्बत १९९९ देखि २००४ सम्म कम्युनिस्‍ट भएको बताएका हुन्।

पछि गैरकम्युनिस्‍टलाई पक्राउ गरेको भ्रम फैलाएर बिपी कोइरालालाले उनलाई कांग्रेसमा लगेको समेत खुलासा गरे।

त्यस्तै, ओलीले मनमोहन अधिकारी कम्युनिस्‍टको स्थापना हुनु सात वर्षपहिल्यै भारतको जेलमा रहेको र मनमोहन एक अविचलित आस्था र निरन्तरताको धरहरा भएको उल्लेख गरे।

कम्युनिस्‍ट एकता दिवसको दिनमा केही केटाकेटीले नबुझेर वा हामीले बुझाउन नसकेर मञ्च रहेको कम्युनिस्‍ट नेताको ब्यानर च्यात्नु गलत भएको भन्दै उनले मञ्चमा टाँगेको ब्‍यानर च्यात्नु र पञ्चायतका बेला कम्युनिस्‍ट आन्दोलन गर्नु फरक रहेको सुनाए।

त्यस्तै, ओलीले जुनदिनमा हामीले पुष्पलाल, मनमोहन र मदन भण्डारीको योगदानलाई विर्सन्छौँ त्यो दिन कम्युनिस्‍ट आन्दोलनको औचित्य पनि नरहे उल्लेख गरे। निकट भविष्यमै पार्टी एकता हुने उल्लेख गर्दै सबल सुदृढ र एकिकृत पार्टी निर्माण गर्न प्रतिबद्ध रहेको बताए।

‘हामी जुन उद्देश्य र विकासका साथ हामी जनतामाझ जान्छौँ त्यो सिमेन्ट र पानीको मिलावट मिलाएर एकै ठाँउमा घोले मजाले जम्ने र त्यसका लागि मात्रा मिलाउँदा कडा गरी जम्छ’, ओलीले भने उपयुक्त, मिलान र उपयुक्त जडान गरेर पार्टी एकता गर्छौं र हामी अगाडि बढ्छौं।’