प्रधानमन्त्री ओलीको गुनासो: तपाईंहरूले फेरि मलाई घेराबन्दी गर्नुभयो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री ओलीको गुनासो: तपाईंहरूले फेरि मलाई घेराबन्दी गर्नुभयो



काठमाडौं- बुधबार साँझ दुई घण्टा गोप्य छलफल गरेर आज बिहान बस्ने सचिवालय बैठकमा सबै समस्याको टुङ्गो लगाउने भन्दै नेकपाका दुई जना अध्यक्ष छुट्टिएका थिए । तर बिहिबार बिहान १० बजे एकाएक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरे ।

प्रचण्डले ‘हेलो, अभिवादन’ भन्न नपाउदै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूले फेरि मेराबिरुद्ध घेराबन्दी गर्नुभयो । ठीकै छ, वामदेवजीलाई लैजाऔं । बरु, रामनारायण बिडारीलाई राजीनामा गर्न लगाएर भएपनि युवराज खतिवडालाई लैजानको लागि तपाईंले आवश्यक वातावरण बनाउन पर्यो । त्यसको लागि सचिवालय बैठक दिउँसो ३ बजेसम्म रोकौं ।’

प्रचण्डले थप कुरो भन्न नभ्याउँदै बालुवाटारको फोनमा लाइन काटिएको आवाज आइसकेको थियो । खतिवडा र प्रधानमन्त्रीको लाज जोगाउनैको निम्ति बिडारीको इज्जत फालिदिन पूर्व माओवादीहरू कुनै हालतमा पनि अग्रसर नहुने बताइएको छ ।

उता,पार्टीभित्र र बाहिरसमेत चर्को बिरोध र आलोचना भएपछि अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीलाई भेटेर आफूलाई राष्ट्रिय सभामा नलैजान अनुरोध गरेको बुझिएको छ ।

खतिवडाले आफूलाई नियुक्त गर्दा ‘संवैधानिक व्यवस्थाबिरुद्ध हुने आरोप सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएको, पार्टीका सबै नेता तथा कार्यकर्ताको मुख बोल्न छाडेको र अनेक विषय सार्वजनिक हुन थालेकाले’ यस्तो अवस्थामा पुनः मन्त्रीको कुर्सीमा बसेर काम गर्न गाह्रो हुने बताएका थिए ।

खतिवडाको कुरोले प्रधानमन्त्रीलाई नसोचेको अप्ठेरो मोडमा पुर्याएपछि बिहान एकाएक खुमलटारमा फोन थिचेर गौतमको सम्बन्धमा आफू तयार रहेको जानकारी दिएको जनआस्थाले लेखेको छ ।

बुधबार बेलुकीको भेटमा प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा मनोनित हुने चाहना त्यागेर सहयोग गरिदिन हालसम्मकै धेरै अनुनय विनय गरेको बताइएको छ ।