ओलीलाई गगनको आग्रह: संसारका मानिस मुर्ख छैनन, अध्ययन गर्नुस - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ओलीलाई गगनको आग्रह: संसारका मानिस मुर्ख छैनन, अध्ययन गर्नुस



नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कुन ज्ञानको स्रोतले काठमाण्डुमा थप मेडिकल कलेज खोल्न पाइने कुरा गर्दै हिँडेको भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीलाई प्रश्न गरेका छन्।

माथेमा कार्यदलले दिएको प्रतिवेदन गहिरोसँग अध्ययन नगरी प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘जति पनि मेडिकल कलेज खोल्न पाइने’ अभिव्यक्ति दिने गरेको आरोप लगाउँदै थापाले सामान्य ज्ञानले होइन विषयको गहिराइमा पुगेर अभिव्यक्ति दिन आग्रह गरे।

‘डाक्टर गोविन्द केसीको अनसनबारे मैले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुने, उहाँहरू विषयको गहिराइमा पुग्नुभएको छैन’ सोलिडारीटी फर प्रोफेसर गोविन्द केसीले शनिबार बानेश्वरमा गरेको कार्यक्रममा थापाले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी तपाईंलाई यसबारे केही थाहा छैन। तपाईंको पनि ‘जनरल नलेज’ हो। मेरो दाबी छ मलाई पनि केही थाहा छैन । शिक्षामन्त्रीलाई पनि केही थाहा छैन।’

केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षाको नीति बनाउन बनेको कार्यदलले दिएको प्रतिवेदनले काठमाण्डुमा १० वर्ष थप मेडिकल खोल्न आवश्यक नरहेको उल्लेख गरे पनि कुन ज्ञान र स्रोतको आधारमा प्रधानमन्त्रीले नयाँ मेडिकल कलेज खोल्न पाइन्छ भन्नुभएको हो ? भन्दै थापाले प्रश्न गरेका हुन्।

‘माथेमा, डाक्टर मदन उपाध्याय, डाक्टर रमेशकान्त अधिकारी, डाक्टर भगवान कोइराला, स्वास्थ्य मन्त्रालयका अहिलेका डिजी गुणराज लोहनी, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल रहेको कार्यदलले लामो अध्ययन गरेर प्रतिवेदनभन्दा फरक अभिव्यक्ति दिने तपाईंको ज्ञानको स्रोत के हो ? हामी जान्न चाहन्छौं’ थापाले भने।

काठमाण्डुको जनसंख्या र बिरामीको अध्ययन गरेर यहाँ १० वर्ष नयाँ मेडिकल कजेल नखोल्ने नपर्ने अध्ययनबाट देखिएको समेत थापाले बताए । डाक्टर केसीले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको थापाले बताए ।

‘म काठमाण्डुको जनताको प्रतिनिधि हो । भो पुग्यो काठमाण्डुमा मेडिकल कलेज चाहिँदैन’ थापाले भने, ‘काठमाण्डुमा मेडिकल कलेज खोल्ने अनुमति दिनासाथै हामी अहिल्यै भनिदिन्छौं थप २० वटा मेडिकल कलेज खुल्छ । उपत्यका बाहिर चलिरहेका पनि बन्द हुन्छन् ।’

प्रधानमन्त्रीले नेपाललाई ‘मेडिकल हब’ बनाउँछु भनेको प्रसंग निकाल्दै थापाले उपचार गर्न किन बंगलादेश नगएर सिंगापुर गएको भनेर प्रश्न गरे ।

‘उपचार गर्न किन हामी सिंगापुर गइरहेका छौं । तपाईं उपचार गर्न बंगलादेश किन नजानुभएको ? बंगलादेश अहिले ‘मेडिकल हब’ हो। बंगलादेश उपचार गर्न जाँदा त्यहाँका डाक्टरहरू देखेर डर लाग्छ । मानिसहरू भागाभाग गर्छन् । यसै गरिकन नेपालमा मेडिकल कलेज खोल्ने हो भने ‘मेडिकल हब’ होइन अहिले सामान्य नागरिकहरू यहाँ उपचार गराइरहेका छौं । कोहीपनि यहाँको अस्पतालमा उपचार नगराएर घरखेत बेचेर भारत उपचार गराउन जान बाध्य हुन्छन्’ थापाले भने । गुणस्तरीय चिकित्सक सबैभन्दा ठूलो कुरा भएको उनले बताए।

‘आज यहाँ धेरै मेडिकल कलेज खोल्ने, संसारभरका विद्यार्थी पढ्न यहाँ आइदिन्छन् अनि टन्न डलर तिर्छन् त्यसपछि नेपाल धनी हुन्छ भन्नु यो पानी जहाज जस्तो होइन प्रधानमन्त्रीज्यू’ थापाले भने, ‘यसरी देश धनी हुँदैन । संसारका मानिसहरू मुर्ख छैनन् । बिरामी नभएको आफ्नै मेडिकल कलेजमा नेपाली विद्यार्थीहरू पढ्न छाडेका छन् ।’

गुणस्तरीय शिक्षा भएकै कारण विगतमा विदेशीहरू नेपालमा पढ्न आएको उनले बताए । गौरीशंकर कार्कीको नेतृत्वमा बनेको आयोगले ४३ जनालाई कारबाही गर्न भने पनि मापदण्ड विपरीत मेडिकल कलेज खोल्नेहरूलाई कारबाही नभएकोमा थापाले दुःख व्यक्त गरे ।

डाक्टर केसीले चिकित्सा क्षेत्र सुधारको माग राखेको बताउँदै थापाले केसी, कांग्रेस वा विवेकशील केही नभएर जोगी भएको बताए । डाक्टर केसी फकाएर नफकिने र तर्साएर नतर्सने खालको भएकोले उनले राखेका मागहरू पूरा गर्न सरकारलाई थापाले आग्रह गरे ।