एमाले अध्यक्ष ओलीको फोटो बोकेर सगरमाथा आरोहण गर्दै - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

एमाले अध्यक्ष ओलीको फोटो बोकेर सगरमाथा आरोहण गर्दै



इलामकी २८ वर्षीया युवतीले यही मे महिनामा सगरमाथा आरोहण गर्ने भएकी छिन्। इलामको सूर्योदय नगरपालिका–१० की युवन्तिका तामाङले अप्रिल ५ देखि मे २९ सम्ममा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी हुन्।

नेकपा एमाले निकट युवा संघकी केन्द्रीय सदस्य रहेकी तामाङ अहिले इलाइट हिमालय एक्सपिट ट्रेकमार्फत आरोहणको तयारी गरिरहेकी छिन्। युवा संघका इलाम इन्चार्ज एवं केन्द्रीय सदस्य निरोज पौडेलका अनुसार सगरमाथाको लोबुचे पिकसम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण गरेर फर्किएकी उनमा सगरमाथा जित्ने उत्साह देखिएको थियो। सगरमाथा आरोहणका लागि सूर्योदय महिला मञ्चले पनि सहजीकरण गरेको थियो।

साहसिक खेल र बाइक राइडिङमा युवाहरुसंग प्रतिस्पर्धामा गर्ने गरेकी तामाङले इलामको पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आरोहणको यात्रामा तय गरेकी थिइन्। युवा संघका केन्द्रीय सदस्य पौडेलका अनुसार उनी उद्यमी युवती समेत हुन्। बंगुर पालन व्यवसाय गरेर व्यवसायीक महिलाको उदाहरण बन्ने प्रयास गरिरहेकी छिन्। ‘सगरमाथा आरोहणका लागि उनी जिल्लाकै पहिलो महिलाको हुन्,’ केन्द्रीय सदस्य पौडेलले भने।

तामाङले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिरलाई समेत सगरमाथाको शिखरमा पुर्‍याउने बताएकी छिन्। त्यसका लागि ओलीलाई भेटेर उनको तस्बिरसहितको झण्डा समेत लिइसकेकी छिन्। ‘युवा संघको झण्डा र ओलीको तस्बिर अंकित झण्डा एक साथ फहराउने छिन्,’ युवा संघका केन्द्रीय सदस्य पौडेलले भने।