राष्ट्रपतिलाई भेट्न फेरि शितलनिवास गए प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

राष्ट्रपतिलाई भेट्न फेरि शितलनिवास गए प्रधानमन्त्री ओली



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले उग्र रुप लिएको बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

दिउँसो १ बजेलाई तय भएको नेकपा सचिवालय बैठक र २ बजे डाकिएको मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्।

यसअघि तय सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बोलाएका ओलीले राष्ट्रपतिसँग परामर्श थालेका हुन्। प्रधानमन्त्री शितलनिवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गरेको छ। 

सचिवालयका बहुमत सदस्यले अघिल्लोपटक प्रधानमन्त्री समेत सहभागी बैठकले तय गरेको समयमै बैठक बस्नुपर्ने बताएपछि ओली नैतिक संकटमा परेपछि मन्त्रिपरिषद्को बैठक एक घण्टा सारेका छन् ।

विवाद चुलिएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गरेका थिए। मंगलबार बेलुका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपतिलाई भेटेका थिए। नेकपा बैठक तोकिएकै समयमा बस्ने उनले जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीपक्ष सकेसम्म आजको सचिवालय बैठक सार्ने पक्षमा छ। तर, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक तोकिएकै समयमा बस्ने बताएका छन्।