ओली-देउवा साँठगाँठ: नेकपा र कांग्रेसमा तरंग - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

ओली-देउवा साँठगाँठ: नेकपा र कांग्रेसमा तरंग



काठमाडौं- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निरन्तर कहिले गोप्य त कहिले खुल्लमखुल्ला भेट भैरहेकारण दुवै पार्टीको शिर्ष तहमा चर्चाको बिषय बनेको छ ।

पार्टीभित्रको विवाद समाधान हुन नसकिरहेका बेला प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवासँग छलफल तीव्र पारेका हुन्। ओली र देउवाबीच भइरहेको निरन्तरको छलफललाई लिएर नेकपाभित्र र नेपाली कांग्रेसमा रामचन्द्र पौडल लगायतको समूहबीच विभिन्न आशंकाहरु बढ्दै गएका छन्।

बिहीबार बालुवाटारमा झण्डै दुई घण्टा एक्लाएक्लै भेटवार्ता गरेका ओली र देउवाबीच आज पनि करिब एक घण्टा बालुवाटारमा भेटवार्ता भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिलगायतका विषयमा उनीहरुबीच भेटवार्ता भएको बताइए पनि दुवै पार्टीका समूहहरुमा भने त्यसले आशंका उत्पन्न गराएको छ।

ओलीले पार्टीभित्र देखिएको विवादकैबीच केही समयअघि पनि देउवासँग नियमित रुपमा छलफल र परामर्श गरेका थिए। पार्टी विभाजनको अवस्थामा गएपछि कांग्रेससँग मिलेर सरकार सञ्चालन गर्ने लगायतका विषयमा यसअघि छलफल भएको विषय बाहिरिएपछि त्यसले कांग्रेसभित्र पनि हलचल ल्याएको थियो।

उद्यपि लगत्तै बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाले ओलीसँग भएको भेटवार्ता र छलफलका बारेमा प्रष्ट पारेका थिए।

नेकपाभित्र भने दाहाल–नेपाल समूहले त्यस्तै परे ओलीले पार्टी नै विभाजन गर्न सक्नेसम्मको चेतावनी दिइसकेकाले देउवासँगको छलफललाई आशंकाका रुपमा हेर्न थालेका छन्।

बिहीबारको भेटवार्तामा ओली र देउवाबीच के विषयमा कुराकानी भएको हो भन्ने विवरण बाहिर आइसकेको छैन। आजको भेटवार्तामा भने नेकपाका संसदीय दलका उपनेता सुबास नेम्बाङ र कांग्रेस नेता रमेश लेखक पनि सहभागी थिए।

दुई नेताहरुबीचको छलफलमा सहभागी भएका नेता लेखकले समसामयिक विषयमा कुराकानी भएको प्रतिक्रिया दिए।

‘उहाँहरुबीच हिजो के विषयमा कुरा भयो जानकारी भएन्,’ उनले भने, ‘आज भने समसामयिक विषयमा नै छलफल केन्द्रित भएको हो। यसअघि भएका छलफलकै निरन्तरतामा उहाँहरुले कुराकानी गर्नुभयो।’

संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्ने बारेमा दुई नेताहरुबीच केही समयदेखि छलफल भइरहेको छ। नेता लेखकले दिएको जानकारीलाई नै आधार मान्ने हो भने दुई नेताबीच कुनै निर्णय भइसकेको छैन।

‘छलफल भइरहेका छन्, कुनै निर्णय नै भइसकेको छैन,’ उनले भने, ‘पुनः छलफल हुने कुरा भएको छ। उहाँहरु पुनः छलफल गर्नुहुन्छ होला।’

लेखकले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिलगायत अन्य विषयहरुमा छलफल चलिरहेको बताए। हिजोको छलफलमा देउवाले लकडाउनपछिको चुनौतीका विषयमा विशेष रणनीति बनाउन सुझाएका थिए।

यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेटवार्ता भएको थियो। उक्त भेटवार्ता संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा केन्द्रित थियो।

लामो समयदेखि विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न सकिएको छैन। प्रमुख प्रतिपक्षी दलसँग सहमति हुन नसकेकै कारणले अहिलेसम्म ती आयोगमा पदाधिकारी रिक्त छन्। संवैधानिक परिषद्काे बैठकसमेत बस्न सकेको छैन।

सत्तारुढ दलभित्र देखिएको अर्को विवादको विषय विभिन्न निकायमा गरिने नियुक्ति पनि हो। पार्टीको निर्णयका आधारमा मात्रै नियुक्ति हुनुपर्ने दाहाल–नेपाल समूहले बताउँदै आइरहेका छन्।

आजै मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा सम्बोधन गर्दै सरकारले पार्टीको निर्णयभन्दा बाहिर गएर गर्ने नियुक्ति विवादित बनेको भन्दै सार्वजनिक रुपमै टिप्पणी गरेका थिए। पार्टीका नेताहरुले पार्टी कमिटीभित्र कुनै छलफल र नेताहरुसँगको परामर्शबिना नै ओलीले स्वेच्छाचारी हिसाबले नियुक्ति गर्दै आइरहेको आरोप लगाउदै आएका छन्।

उता कांग्रेसभित्र पनि बढ्दो भ्रष्टाचार र विभिन्न काण्डहरु भइरहँदा पनि प्रमुख प्रतिपक्षी दलले विरोध गर्न नसकेको आरोप देउवाले खेप्दै आएका छन्। संविधान जारी भएको ५ वर्ष पुग्न लागेको छ।

तर, ११ वटा संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्त हुन सकिरहेका छैनन्। लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसकेको भन्दै पछिल्लो समय ओली र देउवाबीचको भेटवार्ता बाक्लिएको विश्लेषण पनि गरिएको छ।