सकियो ओली-देउवा छलफल: के भयो छलफल ?
काठमाडौ- प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासहितका नेताहरूबिचको भेटवार्ता सकिएको छ । बैसाख २७ गते विश्वासको मत लिने घोषणा गरेर संसद बैठक डाकेका प्रधानमन्त्री केपी शर्मा ओली एकाएक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेपछि राजनीति तरंगित बनेको छ ।
एक घण्टाअघि आफू निकटका नेताहरू सहित देउवा निवास बुढानिलकण्ठ पुगेका ओली लगायतका नेताहरूबीच छलफल भएको थियो । देउवा निवासबाट छलफल सकेर प्रधानमन्त्री ओलीलगायतका नेताहरू बाहिरिएका छन् ।
देउवानिवासमा जारी भेटवार्तामा प्रधानमन्त्री ओलीसंग एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए ।
त्यस्तै कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला सहभागि थिए ।
भेटमा पछिल्लो राजनीतिक परिस्थिति, संसदको विशेष अधिवेशन, राष्ट्रिय सभा उप निर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ ।